मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जातिय बिभेद कहिलेसम्म ?

जातिय बिभेद कहिलेसम्म ?


  • हिम विश्वकर्मा

हिन्दू धर्मका जानकार भनाउँदाहरुलाई मेरो प्रश्न । के एउटै वर्ण, गोत्र, धर्म, सँस्कृतीबाट उद्भव भएको आर्यसमाजलाई दलित र मलित भनि वर्गिकरण गरिएको कुरा कुनै प्राचीन धर्मशास्त्रमा उद्धृत गरिएको छ त ? यदि छ भने ! म पनि आज सम्म यहि पुष्ट्याईको प्रमाणका लागि जुटिरहेको र विफल बनि रहेको छु । किन भने ! हिन्दू धर्मको अनुयायी भएको कारणले धर्म सम्बन्धी जानकारी राख्न मैले पनि पवित्र शास्त्रहरुको अलि अलि अध्ययन र ज्ञान बटुल्ने गर्ने गर्दछु । कहिले काही ऋषी मुनीहरुका प्रवचन र महावाणीहरु पनि सुन्ने गरिरहेको छु । धर्मशास्त्रको अध्ययन गर्दा र ऋषीमुनीहरुका प्रवचन सुन्दा मैले भेटाएको कुरा, प्राचीनकाल देखी हाल सम्म हिन्दू धर्मको प्रचार–प्रसार गर्ने धर्म प्रवर्तकहरुलाई ऋषी वा स्वामी उपनामले चिनिएको छ । हो ! ऋषीमुनीहरुको कुनै जात नै हुदैन यदि हुन्छ भने ! मात्र ज्ञान । जहाँ ज्ञान हुन्छ त्यहाँ चेतना हुन्छ । कुनै पनि धर्मशास्त्रमा मान्छे मान्छेलाई विभेद गर्ने कुरा लेखिएको हुन्छ त ! यदि हुन्छ भने त्यो धर्म नै हुन सक्दैन । यदि होईन ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चारवटा वेद, वेदलाई व्याख्या गर्ने १०८ उपनिषेद, ब्रह्म, पद्म, विष्णु, शिव, भावगत, नारद, मार्कण्डेय, अग्नि, भविष्य, ब्रह्मवैवर्त, लिंग, वाराह, स्कन्द, वामन, कूर्म, मत्स्य, गरुड र ब्रह्माण्ड गरी १८ वटा पुराणको रचना गरी हिन्दूधर्मलाई नीतिभित्र वाध्ने सृजनाकार ऋषी वेदव्यासकी आमा को थिइन र वेदव्यासको जात के थियो ? आज सम्म एकल अस्तित्व स्थापना गर्दै आएका दैवीक रुपी भगवान बह्मा, विष्णु र महादेवको जात के रहेछ ? साक्षात जगतजननी विभिन्न नामले चिनीएकी तीनि ईश्वरीको जात के होला ? के उक्त कुराको वास्तविक उत्तर हामी हिन्दू भनाउँदाहरुलाई जानकारी छ त ? सायद मेरो विचारमा आज सम्म उक्त उत्तरको जानकारी कसैलाई छैन । जब हामीले नित्य आराधना गर्ने इश्वरको आफ्नै जात छैन भने हामी उपासकहरुको जात कस्ले सृजना ग¥यो त ? महादेवले, बह्मा वा विष्णु कस्ले ? के यस्को भरपर्दो दैवीक लिखित प्रमाण हिन्दूवादीहरु संग छ त ? यदि छैन भने एक छिन मनन गरौं ! विचार गरौं ! हामी उपासकहरुको जातपात कस्ले बनायो । यहाँहरु भन्नुहोला मनुस्मृतिमा मनुले गरेको विवेचना । के मनु वेदका ग्रन्थहरुका सर्जक हुन वा मनुस्मृतिको जन्म वेद भन्दा पुरानो हो ? या त मनु वेदव्यासका गुरु हुन । आफै भन्नु सोंच्नु होस ।

मेरो विचारमा धर्मको उत्पति त मानव समाजलाई एकसुत्रमा जोड्ने, अनुशासनमा राख्ने, सामाजिक एकतालाइ जोड्ने, एक आपसमा प्रेम, सद्भाव बाढ्ने, सुमधुर सम्बन्ध स्थापना गर्ने, मानवजगतको रक्षा गर्ने, आफ्नो अस्तित्वको पहिचान गर्ने आदि कुराहरको लागि भएको होला । अनि ! विश्वको प्राचीन र पवित्र धर्म यदि हिन्दू हो भने ! हामी हिन्दूवादीहरु अन्य धर्मका मानिसहरुले वर्तमान विश्व प्रविधिमैत्री बनाई सक्दा पनि जातपात, वर्ग र लिङ्गका आधारमा मान्छे ले मान्छे माथि गरीरहने विभेद, दमन, शोषण पवित्र धर्मको नियम भनि गलत व्याख्या किन गर्दैछौं । के एउटै धर्मका अनुयायी र उपासकहरु शुद्ध र अशुद्ध हुदा रहेछन त ? पानीको छोई छिट्टो हाली मानिस शुद्ध हुने उपदेश बह्मा, विष्णु, महेश्वरको रहेछ त ? हो यदि ईश्वरको नै उपदेश भएको भए सायद यो संसार विभेद भन्ने कहिलै थिएन होला, हुदैन पनि होला, हुने पनि छैन होला । ल, हजुरहरु भन्नुहोस एउटै धर्म, संस्कार, रितीरिवाज, चालचलन, भेषभूषा, खानपान, भाषा, संस्कृती र राष्ट्रियता भएको समाजमा पनि जातजातीका आधार पछाडी पारिए वर्ग समुदायका मानिसहरु माथि दमन, शोषण गरेर गरिने हत्या, हिंसा, बलात्कार र विभेद जस्ता जघन्य अपराधहरु पवित्र धर्मको अपवित्र व्यवहार भएन र । अनि, के पछाडी पारिएका वर्ग समुदायका मानिसहरु फरक संसारबाट आएका रहेछन त ? के हामी जात उत्पतिको विषयमा जानकार बन्न इतिहासका पाना पल्टाउदै जादाँ बह्मा, विष्णु र महेश्वको परिचय सम्म पुग्यौंत ? यदि पुगौं भने, के हामीले यूगौं देखी भरोषा गर्दै आएका धर्मका सर्जक र उत्पत्तिकर्ताको कुनै थर फेला पारौं त । फेला पार्न सकेका छैनौ नि, यदि उत्पत्तिकर्ताको नै थर छैन भने ! उनलाई के दोष दिने । जातको सृजना त धर्म रचियताले होईन, यसो विवेचना गर्ने हो भने ! जात त एक अर्काका माथि दमन र शोषण गरी उनीहरुलाई उपयोग गर्ने उद्देश्य सहित हिन्दू समाजका तत्कालिन शासक र राजगुरु भनाउँदाहरुले सृजना गरेको उपज हो ।

तसर्थ हे ! आफूलाई धर्मका हिमायती भन्ने शुद्ध भनाउदा हिन्दूधर्मको अपवित्र खोल ओढेका महानभावहरु सब भन्दा पहिले हामी पवित्र हिन्दू धर्मलाइ अपवित्र खोलबाट मुक्त गरौं । मानिसमात्र होईन, यो सृष्टिजगतका सम्पूर्ण सजीवहरुको जीवन प्रकृत्ति प्रदत्त उपहार हो । स्वतन्त्ररुपमा बाच्न पाउनु सबैको प्रकृत्ति प्रदत्त अधिकारको । सन्तान सबैका प्यारा हुन्छन् । तसर्थ एउटै धर्मका अनुयायीहरु माथि विदेभ गरेर उनीहरुको हत्या, हिंसा, बलात्कार, दमन, शोषण गर्न बन्द गर । नभए, सधै यस्ता विभिन्न किसमका प्रवृत्तिहरुले सदैव निरन्तरता पाउने हो भने कुनै दिन सम्पूर्ण धर्म, संस्कृति नै खतरामा पर्ला है । धर्मले असत्य र अर्धम गर कहिले भन्छ र ! तसर्थ हामी साच्चै आफूलाई धर्मका शुद्ध प्रवर्तक ठान्छौं भने झूटो नबोल, सत्य बोल्न सिक, अन्यायमा परेका मानिसहरुलाई न्याय दिन जुट, जालसाची होईन यथार्थ कुराको पक्षपोषण गर । सन्ततीहरुको प्रेम, सद्भाव र चहानालाई सम्मान दिन सिक । नकारात्मक व्यवहारहरुलाई सकारात्मक रुपमा परिणत गर । समाजलाई जात, धर्म, शुद्ध, अशुद्ध, वर्ग, लिङ्गको आधारमा विभक्त गर्न बन्द गर । समाजिक सद्भाव र एकता कायम गर्न जुट । विभेद अन्त्य गरी सम्मान र सद्भावलाई अभिवृद्धि गर । हो यस्तो कुरामा हामी सजग भएनौं भने कुनै दिन न हिन्दू रहने छन नत हिन्दूत्वको अस्मीता ।

तसर्थ हे एक्काईसौ समाजमा विवेशील सम्पूर्ण व्यक्तित्वहरु काभ्रे, रुकुम, कपिलवस्तु, कालिकोट, कैलाली लगायत विभिन्न ठाउँमा जातियताका आधार पछाडी पारिएका वर्ग माथि गरिएका विभत्स घटनाहरुको ढाँक छोप गर्ने प्रयास नगर । सत्य घटनालाई असत्यमा प्रमाणित गर्ने दूष्प्रयासहरु न गर । सत्यलाई अवलम्बन गर्न धर्मराज जस्तोअटल बन । घटनालाई निहाली सके पछि विभिन्न अड्कलबाजी न गर । मान्छे–मान्छेलाई फरक दृष्टिकोणले न हेर । अपराधीहरुको पक्ष पोषण न गर । समानता र समतामुलक समाज निर्णाणको कुरालाई ख्याल गर । यो घटना दलित मलितको माथि घटेको हो भन्ने सवाल होईन । यो घटना आम नेपालीयूवा समाजको साझा घटना हो । ठिट्ेउली अवस्थामा विभिन्न रहर बोकेर विभिन्न अपेक्षा बटुल्ने उमेर समुहका तन्नेरीहरुको आशा अपेक्षा समाप्त पार्न सुनियोज्जीत ढंगले घटाइएको अकल्पनीय, निन्दनीय र सारै करुणादायी घटना हो । तसर्थ आगामी दिनमा अन्य थुप्रै यूवायूवतीको जीवन र अस्मितालाई जोगाउन हामी सबैले साझा आवाज उठाउने र पीडित परिवारहरुलाई न्याय दिलाउने घडी हो । आम नेपालीहरुको सामुहिक शक्ति प्रदर्शन गरी समाजमा विद्यमान कु–संस्कार, कु–प्रचलन, कु–प्रथाहरुलाई पन्छ्याउदै नविनतम समाज निर्माणका लागि मार्ग तय गर्ने वेला हो ।

तसर्थ आमनागरिकको प्रतिनिधित्व गर्दै सत्ताशीन सम्माननीय व्यक्तित्वहरु सत्य घटनाको यथाशिर्घ जाँच गर । पिडकहरुलाई कानुनी कठ्घेरामा उभ्याउन जोड देऊ । पिडीतलाई न्याय देउ । दोषीलाई हदै सम्मको सजाय देऊ । मानव जीवन रक्षाका लागि कठोर कानुन बनाउ । भाषणमा आर्दश छाट्न सबैलाई आउँछ, सार्वजनीकरुपमा अभिव्यक्ती गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरी सक्षम नेतृत्वको परिचय देऊ । यहाँहरु साच्चै आम नेपाली नागरिकहरुको सुख, शान्ति र समृद्धिको विकास लागि सरकारको प्रतिनीधित्व गर्न सत्ताशीन हुनु भएको हो भने ! समाजमा वसोबास गर्ने सम्पूर्ण नागरिकको शान्ति, सुरक्षाको विषयमा सर्तकता र सजगता अपनाउनु होस । तसर्थ अविलम्ब नगरी मानव समाजकै कंलकित रुकुम घटनाका दोषीलाई हदै सम्मको कार्यवाही गरी यस्ता अमानवीय घट्ना समाजमा दोहोरिन न दिन कडा कदम चाल्नुहोस । पछाडि परिएका वर्ग सहित आम नागरिकहरुको सुरक्षीतरुपमा बाँच्न पाउँने अधिकारको सुनिश्चिता गर्नु होस तब मात्र राज्यमा कानूनी शासन भएको आम नागरिकहरुले विश्वास गर्ने छौं ।

रुकुम घटनामा विभत्सरूपमा हत्या गरिएका यूवाहरुमा श्रद्धासुमन श्रद्धाञ्जली र घाईते भएका सम्पूर्ण यूवाहरुको शिर्घ स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई इश्वरले शक्ति प्रदान गरुन । नेपाल वास्तविक कानूनी राज्यको रुपमा स्थापित होस। हरेक पिडित नागरिकले न्याय पाउन । यस्ता घटनाहरू देशले पुन कहिले नदेखोस । धन्यवाद !

लेखक बिश्वकर्मा राष्ट्रिय यूवा गैर सरकारी संस्था महासंघ नेपालका सुदूरपश्चिम प्रदेश संयोजक हुन् ।