मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका मुख्य दुई अस्पतालको आग्रह : आकस्मिक बिरामी मात्र अस्पताल आउनु

अछामका मुख्य दुई अस्पतालको आग्रह : आकस्मिक बिरामी मात्र अस्पताल आउनु

सुदूर आज

पूर्ण बहादुर खड्का, अछाम । जिल्लाका मुख्य दुई अस्पतालले आकस्मिक बिरामी बाहेकलाई उपचारका लागि अस्पताल नआउन आग्रह गरेका छन् । जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले अत्यावश्यक बाहेकका अन्य बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।

सरकारले जिल्ला अस्पताललाई कोभिड १९ को उपचार तथा रोकथामका लागि लेभल १ अस्पताल तोकिएपछि अस्पतालले सूचना जारी गर्दै अन्य सामान्य बिरामीलाई उपचारका लागि नआउन आग्रह गरेको हो । लेभल१ अस्पताल तोकिएपछि कोरोना भाइरस (कोभिड (१९) संक्रमितको उपचार गर्नुपर्ने र यसले अन्य सामान्य खालका बिरामीलाई संक्रमणको जोखिम हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टले जारी गरेको सूचनामा उल्लेख छ ।

यता बयालपाटा अस्पतालले पनि उपचार गर्न आएका एक जनामा पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएकाले जोखिम बढेको भन्दै सुचना जारी गरेर सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरिएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए । बयालपाटा अस्पतालमा पनि कोरोना भाईरसको श्वाब संकलनका साथैँ संकास्पद बिरामीलाई आईश्वलेशनमा राख्नुपर्ने भएकाले धेरै भिडभाड भएमा संक्रमण फैलिन सक्ने भन्दै आकस्मिक बाहेक सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको हो ।

जिल्लामा सोमबार २ जना र मंगलबार ९ जना गरी ११ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि जोखिम बढेको हो । मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ बर्षिय जिल्ला अस्पतालका एम्बुलेन्स चालक तथा मेल्लेख गाउपालिका वडा नम्बर ४ कुष्कोटको क्वारेन्टाईनमा रहेका वडा नम्बर ४ का ३०, २२, २९,४०, ३५, २७ र २४ बर्षका पुरुष र २७ बर्षिय महिलामा कोरोना भाईरस संक्रमणको पुुष्टि भएको थियो ।

यस्तै सोमबार चौरपाटी गाँउपालिका वडा नंं. २ का ३१ र ३३ बर्षिय दुई पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको थियो । यसअघि जिल्ला बाहिर रहेका मेल्लेख गाँउपालका घर भई भारतबाट आएका अन्य दुई बाबुछोरीमा धनगढी परिक्षणका क्रममा कोरोना भेटिएको थियो ।