मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशभर भारी वर्षाको सम्भावना : सडकहरु बन्द हुन सक्ने

आज देशभर भारी वर्षाको सम्भावना : सडकहरु बन्द हुन सक्ने


आज (बिहीबार) देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुवानबाट सचेत रहन जल तथा मौसम विभागले आग्रह गरेको छ। आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५ र सदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

उता गृह मन्त्रालयले हिजो नै विज्ञप्ति जारी गरेर आजदेखि आइतबारसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा वर्षकै सबैभन्दा धेरै पानी पर्न सक्ने भन्दै चनाखो रहन अपिल गरेको छ।

पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीमा बाढी आउन सक्ने सम्भावना रहेको मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ। प्राधिकरणद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने भएकाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गर्दछौं।’

प्राधिकरणले झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट चितवन लगायतका जिल्लाका होचो ठाउँमा डुबानमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, विकास साझेदारहरू, सरकारी एवम् गैरसरकारी तथा निजी क्षेत्र र विपत् व्यवस्थापनमा खटिने निकाय र सर्वसाधारणलाई उच्च सर्तक रहन प्राधिकरणले अपिल गरेको छ।

ठूला नदीनालामा आउने बाढीबारे जानकारुी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन केन्द्रको टोल फ्री नं. ११४९ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।