मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मान्यता प्राप्त चिकित्सक नहुदाँ शल्यप्रसुती सेवा प्रभावित

मान्यता प्राप्त चिकित्सक नहुदाँ शल्यप्रसुती सेवा प्रभावित


अछाम । जिल्लाको साँफेबगर क्षेत्रमा अवस्थित सामुदायिक बयालपाटा अस्पतालमा अनुमती प्राप्त शल्य चिकित्सक नहुदाँ प्रसुती सेवा प्रभावित भएको छ । मान्यता प्राप्त प्रसुती गराउने शल्य चिकित्सक नहुदाँ जटिल खालका गर्भवतीको शल्यक्रिया गर्नुपर्ने अवस्था आए अन्यन्त्र रिफर गर्नु परेको अस्पतालले जनाएको छ ।

कुनै बेला ३ जना एमडीजिपी रहेको अस्पतालमा बाहिर बाट रेफर भएर सेवा लिन बिरामी बयालपाटा आउने गरेपनि हाल एकजना पनि नुहदाँ सेवा शल्य चिकित्सक सेवा प्रभावित भएको हो । जिल्ला भित्र र अन्य जिल्लाहरुबाट उपचारमा आएका जटिल खालका गर्भवती लगायत एमडीजिपी बाट सेवा पाउने बिरामीहरुले सेवा नपाएपछि अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको छ ।

सामान्य खालका प्रसुती अस्पतालमा नियमित रुपमा संचालन भईरहेका छन् अस्पतालका प्रमुख डा. मन्दिप पाठकले भने जटिल खालका प्रसुती गर्नुपर्ने अवस्थामा केही समस्या देखिएको हो । जटिल अवस्थामा गर्भवतीको शल्यक्रिया गर्नुपर्ने हुन्छ जसको लागि अनुमती प्राप्त चिकित्सक आवश्यक हुन्छ हाल हामीसंग त्यो व्यावस्था छैन् उनले भने ।

एक महिला पहिले अस्पतालमा कार्यरत स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचन राजिनामा दिएर गण्डकी प्रदेशको संक्रमक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा नियूक्त भएपछि सो पद रिक्त रहेको हो । सो सेवा कायम राख्न सोही समय देखि नै विज्ञापन आव्हान गरिएपनि हालसम्म पद पूर्ती हुन नसकेको अस्पतालले जनाएको छ ।

अस्पतालले आर्थिक कठिनाई खेपिरहेका बेला उनिहरुले खोजे अनुसारको सेवा सुबिधा दिन नसक्ने भएपछि अस्पतालमा डाक्टर आउन नमानेको हुन सक्ने अनुमान गरिएको छ । साथै यसअघि कार्यरत एमडिजिपीहरुले अस्पताल छोड्नुको कारण पनि खोजी गर्ने र आउन नमान्ने गरेको हुन सक्ने आंकलन समेत गरिएको छ ।

पहिले अस्पतालमा ८ देखी ९ जना मेडिकल अधिकृत र ३ जना एमडिजीपी रहेको अस्पतालमा हाल उक्त संख्या घटेको छ । अहिले एकजना अर्थोपेडिक सर्जन र ५ जना मेडिकल अधिकृत कार्यरत छन् ।

न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले नेपाल सरकारसंग साझेदारी गरेर बयालपाटा अस्पताललाई संचालनमा ल्याएर सबै सेवा निशुल्क प्रदान गरिरहेको छ । यसअघि विगत लामो समयदेखि सहयोग गर्दै आईरहेको विदेशी पोसिवल हेल्थ नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले पनि सहयोग रकम कम गर्दे गएको छ ।

स्वास्थ्य सेवाका लागि सहयोग गरिरहेको दातृ निकायले सहयोग रकम घटाउदाँ आर्थिक समस्या कायमै छ भने अन्य आर्थिक श्रोतको भरपर्दो बिकल्प नहुदाँ अस्पतालले आर्थिक भार खेप्नु परिरहेको छ । अस्पतालले आर्थिक भार धान्न नसक्ने भएपछि गत साउनमा अस्पतालबाट केही कर्मचारीहरु समेत हटाईएको थियो ।

सो बिषयलाई लिएर विभिन्न राजनितिक दलहरुले अस्पताल प्रशासनलाई कर्मचारी हटाउनु हुदैन अस्पताल सञ्चालनको लागि स्थानिय, प्रदेश र संघिय सरकारबाट सहयोग माग गरेर अस्पताल बाट प्रवाह हुने कुनै पनि सेवाहरुबाट नागरिकहरुलाई बञ्चित नगराउने वचन दिएका थिए । सोही बेला बयालपाटा अस्पताल सञ्चालनका लागी सुदुरपश्चिम प्रदेश सरकारले ७ करोड रकम बिनियोजित गरेको थियो । तर उक्त विनियोजित बजेटबाट अहिले सम्म २ करोड मात्र निकासा भएको अस्पतालले जनाएको छ ।

पछिल्लो समयमा बयालपाटा अस्पतालमा आर्थिक समस्याका विषयमा सम्बन्धित सरोकार पक्ष तथा राजनितिक दलहरुले चासो देखाएका छैनन् । अस्पतालको दिर्घकालिन सेवा कायम गर्न भनेर जिल्लाका स्थानिय तहका प्रमुखहरुले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर हाल उनिहरु पनि बेखबर छन् । अस्पतालबाट हटाईएका कर्मचारीरुको बहाली गर्न रात दिन जोडदार माग राख्ने राजनितिक दलहरु समेत अहिले मौन देखिन्छन् ।

तर यता कांग्रेस अछामका जिल्ला सभापति भरत स्वार भने अस्पतालमा एमडिजिपी डाक्टर ल्याउन आफु र आफ्नो पार्टीले हरदम प्रयास गरिरहेको र त्यहि अनुसार पहल भईरहेको बताए । यस्तै नेकपा अछामका नेता प्रकाशले पनि प्रसुती शल्यक्रिया बन्द हुनु दुखत भएको भन्दै सेवा नियमित गर्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।

यस्तै सुदूरपश्चिम प्रदेशका सांसद हर्क बहादुर कुवँरले प्रदेशबाट छुट्याईएको बजेट निकासका लागि आफुले निरन्तर पहल गरिरहेको बताए । तुरन्तै धनगढी गएर रकम तत्काल निकासा गर्न आवश्यक सहयोग गर्ने उनले बचन दिएका छन् ।

अस्पतालमा निशुल्क सेवा पाईरहेका नागरिकहरु अहिले अन्यत्र रिफर भई महङ्गो शुल्क तिर्नुपर्ने अवस्था आएपछि आर्थिक मारमा परेका छन् । बयालपाटा अस्पतालमा विभिन्न छिमेकी जिल्लाहरुबाट आउने बिरामी पनि उक्त सेवा नपाएपछि अलपत्र हुने गरेका छन् ।

वयालपाटा अस्पतालले विगत १ दशक देखि सामान्य देखि जटिल खालका बिरामीहरुको सबै उपचार तथा परामर्श सेवा निशुल्क रुपमा दिईरहेको छ । कोभिड सुरु नहुनु पहिले ४ सय देखि ६ सय सम्म दैनिक बिरामीले सेवा लिने गरेको अस्पतालमा हला सो संख्या घटेर ३ सयको हाराहारीमा झरेको छ ।

कोरोनाका कारण केही समय आकस्मिक बाहेकका सेवा बन्द रहेको अस्पतालमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हाल सबै सेवा संञ्चालन भईरहेका छन् । तर बहिरंग सेवा भने अहिले सम्म पूर्ण रुपमा सञ्चाल हुन सकेको छैन् । बयालपाटा अस्पतालमा करिब २ सय को हाराहारीमा स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।