मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवार्ड जित्न सफल दुई राम्रा नेपाली फिल्म, हेर्नुहोस् युट्युबमा

अवार्ड जित्न सफल दुई राम्रा नेपाली फिल्म, हेर्नुहोस् युट्युबमा


विषयगत विविधताले सिनेमामा नयाँ शैली र सोच निर्माण गर्न सहयोग गर्छ। नेपाली फिल्ममा ढिलै भए पनि नयाँ विषयको खोजी र आफ्नै परिवेशको कथा भन्ने क्रम सुरू भएको छ। ‘इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज)’ र ‘झिग्राना’ यस्तै फिल्म हुन्। 

हेर्नुस् यी अलग स्वादका दुई नेपाली फिल्म, युट्युबमाः

‘इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज)’

काठमाडौं सहरमा बाहिरी जिल्लाबाट आएका मानिसहरूको संख्या लाखौं छ। तिनमा कलेज पढेर जीवनमा केही बन्ने सपना बोकेर आउने युवा धेरै होलान्। तर ती युवा के सोच्छन्? कसरी सोच्छन्? यस विषयमा सिनेमा बनाउनेहरूले धेरै गम्भीर रूपमा सोचेको पाइँदैन।  

‘इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज)’ की निर्देशक सहारा शर्मा भने यसबारे मिहीन रूपमा घोत्लेकी छन्।

फिल्मको कथा काठमाडौं बाहिरबाट आएका दाजु र बहिनीहरूको वरिपरि घुम्छ। उमेरमा केहीमात्र साना-ठूला उनीहरू काठमाडौंको साँघुरो कोठामा बसेर इन्द्रेणीजस्तै सप्तरंगी सपना बुन्छन्। भविष्यमा सुखी र भव्य जीवन बाँच्ने सपना देखेका उनीहरू वर्तमानमा भने आम मध्यमवर्गीय नेपाली युवाझैं उनीहरूले घरबाट सीमित पैसा पाउँछन्। सीमित पैसामा कलेज र घरको खर्च धान्न बाध्य छन्। यो खर्चको हिसाबकिताब र भागवन्डा ठूली बहिनी सनमले लिएकी छन्। सनम लुकीलुकी झ्यालबाट छिमेकीको टिभीमा आउने कार्यक्रम हेर्छिन्।

पढाइमा कमजोर दाइ दीपकलाई सनमले त्यसरी चिहाएर टिभी हेरेको मन पर्दैन। तर उनमा पनि कलेजका साथीहरूलाई कोठामा बोलाएर लाइभ फुटबल हेर्ने उत्कट चाहना छ। यी दाजुबहिनी पकेट खर्च कटाएर भए पनि कोठामा टिभी किन्ने अभियानमा छन्।

सानी बहिनी कृतिकामा भने अमेरिका जाने धुन छ। अमेरिका जाने डिभी चिठ्ठा परेपछिको प्रक्रियामा व्यस्त उनी एकपटक अमेरिका पुगेपछि सबै समस्या समाधान हुने सोच राख्छिन् र त्यसकै लागि मेहनत गर्छिन्। दाइ र दिदी कलेज धाउँदा बहिनी भने साइबर धाउँछिन्।

उनको अमेरिका जाने सपना पूरा होला-नहोला, उनीहरूको कोठामा नयाँ टिभी आउला कि नआउला?

दर्शकलाई फिल्म हेरून्जेल यिनै प्रश्नले अन्तसम्म बाँधेर राख्छ। तीन पात्रलाई सँगै र अलग-अलग जोडेर यी पात्रबीच प्रेम र द्वन्द्व सिर्जना गर्न सक्नु फिल्मकी लेखक-निर्देशक सहारा शर्माको सफलता हो।

युवा निर्देशक-लेखक शर्माको यो फिल्मले कलेज पढ्ने युवा उमेर समूहको मनोविज्ञानलाई सूक्ष्म रूपमा चित्रण गर्छ। दाइले परीक्षामा असफल भएपछि घरमा भन्न नसक्नु र आत्महत्या गर्ने सोच बनाउनु, दिदीले प्रेम, शरीर र यौनिक चाहनाका कुरामा अन्तर्द्वन्द्व झेल्नु आदि यसका उदाहरण हुन्। पात्रहरूको मनोवैज्ञानिक पक्ष देखाउन प्रशस्त ‘क्लोजअप सट’ लिइएको छ। फिल्ममा उही उमेरका दाइबहिनीबीच हुने झगडा र प्रेमलाई पनि सजीव रूपमा चित्रण गरिएको छ।

फिल्मको विषयवस्तुजस्तै यसमा काम गर्ने सम्पूर्ण कलाकार युवा छन् जसमध्ये धेरै नयाँ कलाकारले अभिनय गरेका छन्। उनीहरूको अभिनयसँगै फिल्मको संवाद पनि एकदम स्वभाविक छ। फिल्मको पृष्ठभूमि संगीत र सिनेमाटोग्राफीले पनि पात्र र परिवेश अनुसारको भाव उजागर गर्न मद्दत गरेको छ।

गौंथली इन्टरटेनमेन्टको प्रोडक्सन रहेको यो फिल्मका निर्माता अभिमन्यू दीक्षित पनि युवा नै हुन्। त्यसैले यो फिल्मलाई युवाद्वारा युवाकै विषयमा बनाइएको फिल्म भन्न सकिन्छ। ‘इन्द्रेणी खोज्दै जाँदा’ किम्फ र टोरन्टो नेपाल फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल फिल्म हो।

‘झिग्राना’

नेपालमा प्रेम कथा, पारिवारिक मेलोड्रामा र एक्सन प्रधान फिल्म जति धेरै छन्, त्यसको तुलनामा हरर वा थ्रिलर फिल्म अत्यन्तै कम छन्। हरर-थ्रिलर विधामा पछिल्लो समय बनेका धेरै फिल्मले न दर्शकको मन जितेको छ न त समीक्षकबाट प्रशंसा पाएको छ।

यस्तो सन्दर्भ ‘झिग्राना’ नेपालमा हरर-थ्रिलर विधामा राम्रो फिल्म बनाउन सकिने उदाहरणीय फिल्म हो। यसमा एउटा गैरसरकारी संस्थाका कर्मचारीले नेपालको दुर्गम भेगको यात्राको क्रममा हुने घटनालाई रहस्यमयी शैलीमा कथामा ढालिएको छ।

केही वर्षदेखि नेपालमा कार्यरत अमेरिकी महिला क्रिस्टिन आफ्नो अन्तिम फिल्ड भ्रमणमा छिन्। रूकु गाउँको यो भ्रमणमा उनीसँगै श्रिया, माया, रोजर, स्मृति, रामलगायत संस्थाका साथीहरू छन्।

फिल्मको सुरूमै उनीहरू जाने गाउँबारे डरलाग्दा कथाहरू देखाइन्छ-सुनाइन्छ। कालपञ्चमीको नाममा मानिसको बलि दिने कथाले यात्रामा हिँडेका केही पात्रको मनमा डर जागिसकेको हुन्छ। उनीहरूको यात्रा जति अघि बढ्छ, त्यो डरले मूर्त रूप लिँदै जान्छ।

उनीहरूको डर तब उत्कर्षमा पुग्छ जब रूकु पुग्नुअघि बास बसेको बेला स्मृतिको हत्या हुन्छ। स्मृतिको हत्या भएपछि सुरूमा माया र स्मृतिसँग एकै पटक प्रेम सम्बन्ध गाँसेका रोजरमाथि शंका गरिन्छ। तर दर्शकको शंकाभन्दा बिलकुल अप्रत्यासित घटनाक्रमका साथ कथा अघि बढ्छ।

झिग्राना रोमाञ्चक यात्रामा निस्केका साथीहरूको मस्ती, रोमान्स र मीठा कुराकानीसँगै धोका, इर्ष्या र शंकाको कथा हो। लोभलाग्दा दृश्य, झस्काउने घटनाक्रम र नाटकीय घुम्तीसहितको यो फिल्मले नबहकिकन दर्शकलाई पात्रसँगै रहस्मयी गन्तव्य ‘झिग्राना’ पुर्‍याउँछ।

मेनका प्रधान, शान्ति गिरी, निकुन श्रेष्ठ, अरुण रेग्मीसहित फिल्ममा जर्मन कलाकार हाना जेस्चेवेस्कीको मुख्य भूमिका छ। पासाङ लामाको निर्देशनमा बनेको झिग्रानाले नेपालका केही महत्वपूर्ण अवार्डसँगै ओहिओ अमेरिकाको ‘हरर होटल फिल्म फेस्टिभल’ मा समेत अवार्ड जितेको थियो।