मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले नपत्याएका विश्वप्रति महाधिवेशन प्रतिनिधिको विश्वास

देउवाले नपत्याएका विश्वप्रति महाधिवेशन प्रतिनिधिको विश्वास


काठमाडौं- विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका अत्यधिक रुचाइएका युवा नेता हुन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका शर्मा प्रभावशाली युवा नेतामा पर्छन्। कांग्रेस केन्द्रीय सदस्य भएको सात वर्षमा नै उनले पार्टी भित्र राम्रो ‘लोकप्रियता’ कमाएका छन्। र, पार्टी प्रवक्तासमेत बन्न सफल भए। २०७२ मा कांग्रेसको १३औं महाधिवेशनबाट शर्मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

उनी पार्टी सभापति शेरबहादुर देउवा निटक मानिन्थे। तर, १४औं महाधिवेशनमा महामन्त्रीका दावेदार शर्मा देउवाको टिममा भने परेनन्। दउवाको रोजाइमा नपरेपछि शर्माले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा चुनाव लडे। 

१३औं महाधिवेशनमा कांग्रेस प्रवक्ताको चर्चा गगन थापा र विश्वप्रकाशको थियो। गगनलाई पाखा लगाउँदै देउवाको रोजाइमा परेका थिए शर्मा।

२०७२ फागुनमा कांग्रेसले देउवाको नेतृत्वमा नयाँ कार्यसमिति पाएको थियो। त्यसको १८ महिनापछि शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारी पाएका थिए। 

शर्मा कांग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापाका नेता हुन्। तर, उनी कृष्णप्रसाद सिटौलाको रोजाइमा कहिल्यै परेनन्। सिटौलाकै असहयोगका कारण शर्मा १२औं महाधिवेशनका बेला विश्वप्रकाश झापा जिल्ला सभापतिमा पराजित बने। 

सिटौलालाई कांग्रेसमा तेस्रो धारका नेताका रूपमा लिइन्छ। उनी १२औं महाधिवेशनमा केन्द्रीय सभापतिमा समेत उठेका थिए। जसमा उनी पराजित हुन पुगे। उनलाई १३औं महाधिवेशनमा गगन थापाको साथ थियो। थापा १३औं महाधिवेशनमा सिटौलाको टिमबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। जसमा गगन पनि पराजित हुन पुगेका थिए।

१४औं महाधिवेशनमा राजनीतिक समीकरण फेरियो। शेरबहादुर देउवा र सिटौला एक ठाउँमा आए। सिटौलाले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अगाडि सारे। टिम मिलाउनुपर्ने बाध्यताले शर्मा महामन्त्रीमा देउवाको टिममा अटाउन सकेनन्। यहाँ पनि शर्माका लागि सिटौला नै बाधक बने। जसले गर्दा शर्मा विद्रोह गरेर प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा लड्न बाध्य भए।

जहाँ उनले टिमभन्दा पनि आफ्नो व्यक्तित्वका कारण लोकप्रिय मत ल्याएर विजयी भए। १४औं महाधिवेशनमा मतका आधारमा तेस्रो नम्बरमा रहेको सिंह नेतृत्वको टिमबाट शर्मा विजयी हुनुले उनी कार्यकर्तामाझ निकै लोकप्रिय भएको प्रस्ट भएको छ।

पार्टीमा स्पष्ट वक्ताको छवि बनाएका शर्माले कार्यकर्ताको माझमा लोकप्रिय हुँदा चुनाव जित्नका लागि कुनै समूहनै नचाहिने कुरासमेत प्रमाणित गरि दिएका छन्।

नेता शर्मा प्रतिनिधिसभाको निर्वाचनमा भने झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका थिए। निर्वाचनमा पराजित हुँदा पनि प्रतिद्वन्द्वीलाई मित्रतापूर्ण व्यवहार गरेको भन्दै शर्माको चौतर्फी प्रशंसा भएको थियो ।

शर्मा २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका नेता हुन्। शर्मा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष समेत हुन्। २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका छन्।