मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन थापाको राजनीतिक छलाङ : नेविसंघ महामन्त्री भएको दुई दशकमा कांग्रेस महामन्त्री

गगन थापाको राजनीतिक छलाङ : नेविसंघ महामन्त्री भएको दुई दशकमा कांग्रेस महामन्त्री


काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट उदाएका गगनकुमार थापा पार्टीको महामन्त्री पदमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बिहीबार सार्वजनिक मत परिणामानुसार थापा महामन्त्रीमा विजयी भएका हुन् ।

०४६ सालमा कक्षा–९ मा अध्ययरत रहँदा उनी नेविसंघमा प्रवेश गरेका थिए । नेविसंघको उपाध्यक्ष, महामन्त्री हुँदै संविधानसभा सदस्य भए । ०७३–०७४ मा स्वास्थ्यमन्त्री भएका थिए । ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट सांसदमा विजयी भए ।

उनले तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए । स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्दै गर्दा ०६०–०६१ मा राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा खेपेका थिए । जेलमै रहँदा एम्नेष्टी इन्टरनेसनलद्वारा उनलाई ‘आस्थाको बन्दी’को घोषणा गरिएको थियो ।

शान्तिपूर्ण रूपमा आफ्नो आस्था प्रकट गरेकै आधारमा बन्दी बनाइएका विश्वका प्रतिष्ठित राजनीतिज्ञलाई यस्तो बन्दी घोषणा गर्ने गरिन्छ । थापाभन्दा अघि नेपालमा सन्तनेता कृष्णप्रसाद भट्टराईलाई उक्त घोषणा गरिएको थियो ।

थापाले ०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर विद्यार्थी तथा आन्दोलनकारीहरूलाई नेतृत्व प्रदान गरेका थिए ।

यस्तो छ गगनको राजनीतिक यात्रा
– २०४६ सालमा कक्षा–९ मा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध 
– २०४६ सालको जनआन्दोलनमा सहभागिता 
– २०५१ मा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य
– २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सचिव 
– २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सभापति 
– २०५५ सालमा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य 
– २०५७ सालमा नेपाल विद्यार्थी संघका उपाध्यक्ष 
– २०५९ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री
– तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ
– स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दा २०६०/२०६१ राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा  
– जेलमै रहँदा एम्नेष्टी इन्टरनेसनलद्वारा ‘आस्थाको बन्दी’को घोषणा
– २०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान 
– २०६२/६३ को एजेन्डा स्थापित गराउन, शान्तिपूर्ण रूपमा राजनीतिक परिवर्तनका लागि अग्रणी भूमिका 
– २०६४ सालमा पार्टीको तर्फबाट समानुपातिकतर्फ संविधानसभा  सदस्य
– २०६५ सालमा संसद्को प्राकृतिक स्रोत समितिमा रहेर ऊर्जा उपसमितिको नेतृत्व, ऊर्जा संकट समाधान गर्न ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय
– २०६७ सालमा भएको नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित
– २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट अत्यधिक मतसहित विजयी 
– २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापतिको रूपमा कृषि, ऊर्जा, जलस्रोतलगायत क्षेत्रमा नीतिगत पहल
– २०७२ सालको कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मदेवार र पराजित 
– २०७३-२०७४ सालमा नौ महिनाको छोटो समय स्वास्थ्यमन्त्री
– २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट पुनः सांसद निर्वाचित
– २०७८ सालको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी ।