मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेन संकट : अमेरिकाले युरोपमा थप सेना पठाउँदै

युक्रेन संकट : अमेरिकाले युरोपमा थप सेना पठाउँदै

सुदूर आज

बीबीसी । अमेरिकाले युरोपमा थप सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी आक्रमणको निरन्तर डरका बीच यस हप्ता युरोपमा थप सेना पठाउने भएको पेन्टागनले जनाएको छ । पेन्टागनले गत महिना तयारी अवस्थामा राखेका साढे आठ हजार सैनिकबाहेक थप सेना युरोप पठाउन लागेको हो ।

फोर्ट ब्राग नर्थ क्यारोलिनाबाट करिब दुई हजार सेना पोल्याण्ड र जर्मनी पठाइनेछ । र, जर्मनीमा पहिले नै रहेका थप एक हजार सेना रोमानिया जानेछन् । अहिले खटाइन लागेका अमेरिकी सैनिकले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्नेछन् ।

मस्कोले आक्रमण गर्ने योजनालाई अस्वीकार गरेको छ तर युक्रेनको सीमा नजिकै अनुमानित एक लाख सैनिक तैनाथ गरेको छ । उसले अमेरिकी तैनाथीलाई ‘विनाशकारी’ भनेको छ ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफूमा गाभेको र पूर्वी डोनबास क्षेत्रमा भएको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको आठ वर्षपछि तनाव भएको हो ।

“हामीले पुटिन र बाँकी विश्वलाई नेटो संयुक्त राज्य अमेरिका र हाम्रा सहयोगीहरूका लागि कति अहम् छ भन्ने बलियो संकेत पठाउनु महत्वपूर्ण छ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले पत्रकारहरूलाई भने ।

तर, पुटिनको कथित आक्रमण योजनाको प्रश्नमा उनले भने, “उनले (पुटिनले) युक्रेनमा थप आक्रमण गर्नेमा हामी अझै पनि विश्वास गर्दैनौँ ।” उनले युरोपेली समाचार आउटलेटमा चुहिएको अमेरिकी प्रस्ताव वास्तविक भएको पनि बताए । उनले युक्रेनको तनाव कम गर्न अमेरिकाले रुससँग परमाणु हतियार कटौती गर्न र विश्वास निर्माणको उपायहरूको लागि अमेरिकी प्रस्तावको बारेमा स्पेनको एल पेस अखबारको समाचारलाई उल्लेख गरेको देखिन्छ । 

अमेरिकी तैनाथी ‘विनाशकारी’
रुसी उप–विदेशमन्त्री एलेक्जेन्डर ग्रुस्कोले अमेरिकी तैनाथीलाई ‘विनाशकारी’ कदमको रूपमा वर्णन गरेका छन् । यसले तनावलाई बढाएको र राजनीतिक समाधानको दायरालाई कम गरेको उनको भनाइ छ ।

यसैबीच, रुसी राष्ट्रपति पुटिनले युक्रेनको विषयमा बुधबार ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोनमा कुराकानी गरेका छन् । जोनसनले पुटिनलाई ‘सबै युरोपेली प्रजातन्त्रहरूलाई नेटो सदस्यताको आकांक्षा गर्ने अधिकार भएको’ बताएको डाउनिङ स्ट्रिटको विज्ञप्तिमा उल्लेख छ ।

रुसले नेटोमा युक्रेन सामेल हुन खोजेको भन्दै त्यसको विरोध गरेको छ । 

पुटिनले युक्रेनले मिन्स्क शान्ति सम्झौतालाई ‘दीर्घकालीन रूपमा निस्तेज गर्ने’ खालको व्यवाहार र रुसको जायज सरोकारलाई उचित प्रतिक्रिया दिन नेटोले अनिच्छा देखाएको भन्दै ध्यानाकषर्णण गराएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ ।

पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । अमेरिकाको लक्ष्य रुसमाथि थप प्रतिबन्ध लगाउने बहानाको रूपमा टकराव प्रयोग गर्नु रहेको उनको भनाइ छ ।

विश्वका सबैभन्दा ठूला परमाणु हतियार भएका रुस र अमेरिकाबीचको प्रतिद्वन्द्व शीतयुद्ध कालदेखिको हो । युक्रेन त्यतिबेला सोभिय संघको महत्वपूर्ण हिस्सा रहेको थियो ।

हालै तैनाथ गरिएका केही अमेरिकी फौजलाई रहने व्यवस्था मिलाएको रोमानिया अमेरिकाद्वारा निर्मित एजिस ल्यान्ड बेस्ड मिसाइल डिफेन्स स्टेशनको घर हो । सन् २०१६ मा सो स्टेशन खोलिएदेखि रुसले सुरक्षा खतराको रूपमा वर्णन गरको छ ।