मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छलफलको मुख्य एजेन्डा नै बयालपाटा अस्पतालको दिगोपना

छलफलको मुख्य एजेन्डा नै बयालपाटा अस्पतालको दिगोपना


अछाम । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटमा रहेको बयालपाटा अस्पतालमा हुने हरेक छलफलमा अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवाको दिगोपना मै छलफल केन्द्रित भईरहेका छन् । पछिल्लो केहि बर्ष यता अस्पतालले निशुल्क रुपमा प्रदान गरिरहेको गुणस्तरिय सेवाको दिगोपना हुनुपर्नेमै धेरैजसो छलफल केन्द्रित हुन थालेका हुन् ।

अस्पतालले आयोजना गर्ने बिभिन्न छलफलहरुमा बयालपाटा अस्पताल दुर्गम क्षेत्रका जनताका लागि बरदान साबित भएको भन्दै यसको दिगोपना हुनुपर्नेमा सरोकारवालाको जोड हुने गरेको छ । यसअघि बिभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय दातृ निकायको सहयोगमा संचालन हुदैँ आएको बयालपाटा अस्पतालमा कोभिड १९ को महामारी पछि आर्थिक समस्या भएपछि यसको दिगोपना कसरी हुने बिषयमा बिभिन्न चरणमा छलफल भईहरेका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संगको साझेदारीमा न्याय हेल्थ नेपालको व्यावस्थापनमा संचालनमा रहेको बयालपाटा अस्पतालको कुनैपनि सेवामा कमि हुन नदिई अस्पताल संचालन भईरहनुपर्नेमा जिल्ला स्थित सरोकारवालाको जोड छ ।

५० बेडको अस्पताल प्रदेश सरकारको मातहतमा हुनुपर्ने व्यावस्था अनुसार बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश मातहतमा राख्नेगरी काम भईरहेकोले यसको मुख्य अपनत्व प्रदेश सरकारकै हुनुपर्नेमा उनिहरुको जोड छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र अछाम जिल्लाका स्थानिय पालिकाका प्रमुख तथा प्रतिनिधीहरु संग न्याय हेल्थ नेपालले आईतबार अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति तथा योजना महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले बयालपाटा असपतालले प्रदान गरिरहेको गुणस्तरिय सेवामा कुनै संका नरहेको भन्दै यसको दिगोपनाका लागि तिन तहकै सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

केन्द्र सरकार अन्र्तगतको स्वास्थ्य तथा जनसंख्या पनि अस्पतलाको दिगोपनाका लागि एक हिस्सेदार बन्न तयार रहेको डा. लोहनीले बताए । अस्पतालले प्रदान गर्ने न्युनतम आधारभुत स्वास्थ्य सेवाको मुल्याकंन गरेर त्यसको नतिजा राम्रो भए अस्पताल संचालनमा कुनै समस्या नआउने डा. लोहनीको भनाई थियो ।

एक अर्को प्रशंगमा बोल्दै डा. लोहनीले भने आधारभुत स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार हो, नागरिकले त्यो सेवा नपाए अब मुद्धा हाल्ने अवस्थाको समेत सृजना हुनसक्ने भन्दै सचेत समेत गराए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रिता भण्डारीले अस्पतालको दिर्घकालिन स्वास्थ्य सेवाको लागि आफु र प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउदैँ त्यसको लागि निति निर्माण र कार्ययोजना तयार पार्नुपर्नेमा जोड दिईन् ।

सरकारी निति नियम भित्रै रहेर काम गर्नु पर्ने भएकाले प्रदेशबाट बजेट निकासामा ढिलाई भएको उनको स्वीकारोक्ती थियो । सबै तहका सरकारको संलग्नतामा अघि बढे अस्पतालको दिगोपनाका लागि बजेटमा सहजता हुने उनको भनाई थियो ।

एक अर्को प्रसंगमा उनले जिल्ला अस्पताल र बयालपाटा अस्पतालबिच समन्वयकारी भुमिका हुनुपर्ने र एकअर्काले सहयोग गर्नुपर्नेमा जोड दिईन् । साथै उनले न्याय हेल्थ नेपालले समुदायमा गरेको काममको रिर्पोटिगं नुहदाँ प्रतिफल थाह नभएको बताईन् । सामुदायिक स्वास्थ्य कार्यकर्ता र स्वास्थ्य स्वयंम सेविका बिच पनि सहकार्य हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा सहभागी स्थानिय तहका प्रमुख तथा उपप्रमुख, स्वास्थ्य कार्यालय अछामका प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, वडाअध्यक्षहरुले अस्पतालको दिगोपनाका लागि हरेक बर्ष हार गुहार गर्नुपर्ने कामको अन्त्य हुनुपर्ने र अस्पतालको लागि हरेक बर्ष बजेट सुनिश्चता हुनुपर्नेमा जोड दिएका थिए ।