मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा संघीय सांसदका लागि गठबन्धनभित्रै तीन ‘हेभिवेट’ दाबेदार

डोटीमा संघीय सांसदका लागि गठबन्धनभित्रै तीन ‘हेभिवेट’ दाबेदार

सुदूर आज

धनगढी । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिएसँगै डोटीमा पनि महोल तातेको छ । एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनबाट तीन प्रभावशाली नेताले संघीय संसद् ताकेपछि उमेदवार टुंगो लगाउन थप सकस बन्ने देखिएको छ ।

डोटीबाट संघीय सांसद बन्न नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलयार, नेकपा (एकीकृत समाजवादी)बाट अहिलेका सांसद प्रेम आले र हाल सुदूरपश्चिमका मुख्यमन्त्रीसमेत रहेका त्रिलोचन भट्टले दाबी गरेपछि गठबन्धनभित्र तनाव चुलिएको छ । 

०७४ सालको निर्वाचनमा प्रदेश सांसद भएर अहिले प्रदेश सरकारका मुख्यमन्त्री रहेका भट्ट आगामी चुनावमा आफू फेरि प्रदेशमा नलड्ने बताउँछन् । ०७४ मा वाम गठबन्धन रहँदा संघीय सांसद निर्वाचित भएका तत्कालीन नेकपा (एमाले) का प्रेम आले यसपटक एकीकृत समाजवादीबाट शक्तिशाली दाबेदार रहेका छन् । 

पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका बलयार २०७४ मा आलेसँगै पराजित भएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेकै बेला बलायरलाई आलेले एक हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए । 

०७४ सालमा बलायरलाई हराएका आले २०७० सालमा डोटी क्षेत्र नम्बर २ बाट सांसद बन्दा बलायर डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । बलायर, आले र भट्ट तीनै जनाले संघीय सांसदकै दाबी गरेपछि गठबन्धनलाई उमेदवार छान्न थप कठिन हुने देखिएको छ । 

डोटीमा एकीकृत समाजवादीले आलेलाई उम्मेदवार बनाउने भनेर सिफारिससमेत गरिसकेको छ । कांग्रेसका बलायर पनि प्रतिनिधिसभा निर्वाचन लडेरै छाड्ने मुडमा छन् । यस्तै, मुख्यमन्त्री भट्ट पनि ‍माओवादी केन्द्रबाट बलिया दाबेदारको रूपमा प्रस्तुत भएका छन् ।

डोटीमा कांग्रेस बलियो भए पनि गठबन्धनको भागबन्डामा समाजवादीबाट आलेको सम्भावना बढी देखिएको कांग्रेसकै एक नेता बताउँछन् । आलेले संघीय टिकट पाउँदा कांग्रेसका बलायरले प्रदेशमा लड्नुपर्ने बाध्यता पर्नसक्ने उनको अनुमान छ । 

तर, कांग्रेस डोटीका कार्यकर्ता तथा नेताहरूले डोटीमा गठबन्धन नगर्न चेतावनी दिँदै आएका छन् । गत स्थानीय तहको निर्वाचनमा पनि डोटीमा कांग्रेस एक्लै लडेको थियो । संघीय चुनावमा ९० प्रतिशत मत कांग्रेसलाई आउने डोटी कांग्रेसका नेता कार्यकर्ताले दाबी गर्दै आएका छन् ।