मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधी मेल्लेख ७ लाई

वडा स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधी मेल्लेख ७ लाई


खेल क्षेत्रको विकासका लागि मंगलसेन नगरपालिका सधै अग्रसर भइरहने मंगलसेन नगरपालिकाका प्रमुख बोहराको भनाई

टेकराज भण्डारी, अछाम मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले खेल क्षेत्रको विकासका लागि मंगलसेन नगरपालिका सधै अग्रसर भइरहने बताउनुभएको छ ।

सिर्जनशील युवा क्लब मंगलसेन ६ तेसिंगेको आयोजनामा ठुलासैन बृहत खेल मैदानमा भएको भलिबल प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै नगरप्रमुख बोहराले नगरपालिका तथा वडा वडामा खेल पूर्वाधारको विकास, प्रतियोगिता आयोजना लगायतका कार्यले खेल क्षेत्रको विकासमा टेवापुगेको बताउनुभयो ।

मंगलसेन नगरपालिका, वडा नम्बर ५, हरिनगर बजार विकास समिति लगायतको सहयोग तथा सिर्जनशील युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता भएको हो । युवाहरुको सक्रियतामा राम्रो काम भएको भन्दै युवाहरुले गर्ने अन्य काममा समेत नगरको सहयोग रहने नगरप्रमुख बोहराको भनाई छ ।

क्लबका अध्यक्ष टंकप्रसाद भण्डारी (पाण्डव) को अध्यक्षतामा भएको समापन कार्यक्रममा नगरप्रमुख बोहराले नगरपालिकाको तर्फबाट मंगलसेन सदरमुकाममा समेत बृहत खेल मैदान निर्माण गरेको उहाँको भनाई छ । युवाहरुले विभिन्न सिर्जनशील काम तथा युवाहरुको व्यक्तित्व विकासका काम गर्नुपर्ने नगरप्रमुख बोहराले बताउनु भयो । मंगलसेन ६ का युवाहरुले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा धन्यवाद दिँदै अन्य समाजिक काममा समेत सक्रिय रहन आग्रह गर्नुभयो । उहाँले बिजेतालाई बधाइ दिँदै यसबाट अरुले पनि सिक्ने अवसर पाउने बताउनु भयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष देबेन्द्रप्रसाद भण्डारीले वडाको ठुलासैन डम्पींग साईट ग्राभेल सडक उपभोक्ता समितिले त्यसबाट बचेको रकमले खेल मैदानको निर्माण गरी प्रतियोगिता सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

सडक निर्माणकै क्रममा केही अवरोध गरिएपनि सडकका साथै खेल मैदान समेत बनाउन आफुहरु सफल भएको उहाँको भनाई छ । कार्यक्रममा उद्योग बाणिज्य संघ अछामका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढुंगानाले ठुलासेन तथा अछामकै विकासका लागि खेल पूर्वाधार, सडक लगायतले महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।

प्रतियोगितामा मेल्लेख ७ नन्देगडा प्रथम भएको छ । रामारोशन ७ सुतारलाई ३–० को सोझो सेटमा पराजित गर्दै नन्देगडाले उपाधि का साथ कर सहित नगद ५१ हजार कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता सुतारले नगद ३१ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । तृतिय स्थान प्राप्त गर्न सफल मंगलसेन ३ लाछिमानाले नगद २१ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । मंगलसेन ३ ले कमलबजार १० लाई ३–१ को सेटमा पराजित गर्दै तृतीय स्थान हाँसिल गर्न सफल भएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी मंगलसेन ३ का तेज बहादुर साउँद, लिफ्टर सुतारका शमशेर भण्डारी, स्पाईकर नन्देगडाका बिन्दुराज खत्री तथा लिब्रो सुतारका दिनेश भण्डारी घोषित भई पुरस्कार समेत दिईएको छ । मुख्य रेफ्री बलराम भाट र रेफ्री राम प्रसाद भाटलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।

बडादशैँ तथा दिपावलीको अवसरमा यही जेठ २५ गतेबाट आयोजना गरिएको वडा स्तरीय खुला भलिबल प्रतियोगितामा दैलेखको आठबिस नगरपालिका सहित जिल्लाभरीका विभिन्न १६ टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामी, ५ का अध्यक्ष झंकर प्रसाद भाट, ७ का अध्यक्ष राज बहादुर शाही, ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, वडा सदस्य जनमराज भण्डारी, वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष जनकराज भण्डारी लगायतले बिजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

क्लबका उपाध्यक्ष खकेन्द्र प्रसाद भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नमराज भण्डारीले गर्नुभएको थियो ।प्रतियोगिताले ठुलासेन तथा मंगलसेन क्षेत्रमा समेत चहलपहल र व्यापार प्रवद्र्धन भएको व्यापारीले बताएका छन् ।