मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबल क्रेज र सम्झनामा कान्छा बुबा

फुटबल क्रेज र सम्झनामा कान्छा बुबा

सुदूर आज

वेदप्रकाश तिमिल्सैना : म सानैदेखि खेलकुद प्रेमी हुँ। पछि किशोर उमेरमै खेलकुद पत्रकार पनि भएँ। मेरो खेलकुदप्रतिको आकर्षण पश्‍चिम नेपालको ठूलो खेलकुद केन्द्र नेपालगञ्जको महेन्द्र रंगशाला नजिकै हुर्केकाले पनि हुन सक्छ। नेपालगञ्जको नयाँ संरचना दैनिक हुँदै  कान्तिपुरसम्म पनि मैले खेलकुद पत्रकारिता गरेको। मेरो रुची खेलकुदमा थियो, त्यसैले मैले खेलकुद पत्रकारिता रोजेँ। म सबै खेलको विषयमा सामान्य जानकारी राख्छु। तर खेलमा पनि फुटवलको बढी माया लाग्छ।

मलाइ खेलकुद मेरो कान्छा बुवाले (नरेन्द्र तिमिल्सैना द्वन्द्वका क्रममा दुई दशक अघिदेखि बेपत्ता) चिनाउनु भएको हो। बाल्यकालमा रेडियो नेपालका समाचार र समाचमुलक कार्यक्रम अनि बीबीसी नेपाली सेवा सुन्‍ने म कान्छा बुबासँगको निकट थिए। उहाँसँगको निकटताले खेलकुदप्रेमी र फुटबलमा पनि अर्जेन्टीनाको डाइहर्ट प्रशंसक बन्‍न पुगेँ।

रेडियोमा विश्वकप फुटबलको कमेन्ट्री सुन्ने उहाँ कान्छाबुबा चाहीँ त्यो सुनी सकेपछि मेरा लागि कमेन्ट्री गर्नु हुन्थ्यो। अर्थात यस्तो-यस्तो भयो भन्नुहुन्थ्यो। बहुसंख्यक नेपालीझैँ कान्छा बुवा अर्जेन्टीनाको  समर्थनमा भएकाले म पनि अर्जेन्टीनाको प्रशंसक बने। यो विश्वकपसम्म पनि मैले अर्जेन्टिनालाई छाडेको छैन।

अमेरिकामा भएको १९९४ को विश्वकपको पन्ध्रौ संस्करणमा शक्ति बर्धक औषधी सेवन गरेको आरोपमा उतिबेलाका प्रसिद्ध खेलाडी म्यारोडोनालाई विश्वकप खेल्न प्रतिबन्ध लगाएर मैदानबाट बाहिर निकालेको दिन कमेन्ट्री सुनि सकेपछि दुबै काका भतिजा निकै दु:खी बनेका थियौ। मैले खासै केही कुरा बुझेको थिएन, तर उहाँ दु:खी भएपछि म बालक पनि दु:खी भएको थिए। कान्छाबुवा म्यारोडनाका प्रशंसक हुनुहुन्थ्यो।

पछि गएर म पनि म्यारोडनाको प्रशंसक बने। आज पनि मलाइ मन पर्ने खेलाडी म्यारोडना नै हुन्। अर्जेन्टिनाका म्यारोडना रुँदै मैदानबाट बाहिरिए कमेन्ट्री गर्नेले भनेपछि साविकको  कुइका- १ स्थित घर नजिक खला (आँगन) को डिलमा बसेर रेडियोमा विश्वकप सुन्दै गर्दा कान्छाबुबाले निकै ठूलो स्वरमा अजय दाजु ( मेरा ठुलो बुवाका छोरा ) लाई म्यारोडोनालाई खेलबाट निकाल्यो रे भनेर भनेको आजसम्म पनि मेरा कानमा गुन्जी रहेको छ। पछि निकै बेरसम्म कान्छाबुवाका आँखा रसाएका थिए। सन १९९८ को फ्रान्समा भएको विश्वकप दुवै काका भतिजाले नेपालगञ्जमा श्यामश्वेत टिभीमा हेरेका थियौं।

अर्जेन्टिानाका सबै खेल हेर्‍यौं। एसियामा जापान-कोरियामा भएको २००२ को विश्वकपको एक खेल मात्र कान्छा बुबासँगै बसेर हेर्ने अवसर मिल्यो। बाँकी खेलहरु नेपालगञ्जको पुरानो सिद्धार्थ कटेजमा भाइ वालकृष्ण जोशीसँग बसेर फाइनलसम्म हेर्ने मौका पाएँ। खेलकुदका प्रसंगमा त्यसमा पनि फुटबल र क्रिकेट विश्वकपमा उहाँको धेरै याद आउँछ।

कान्छा बुबासँग बसेर विश्वकप फुटबल, क्रिकेट अनि साफ गेम, साफ फुटबलको कमेन्ट्री रेडियो नेपालमा सुनेका र खेल टिभीमा हेरेका ती दिनहरुको झल्झली याद आउँछ। त्यसपछिका दुई विश्वकप सन २००६ मा जर्मनीमा भएको र सन २०१० मा दक्षिण-अफ्रिकामा आयोजित विश्वकप फुटबल प्रतियोगिता टेलिभिजनमा हेरियो। तर अर्जेन्टिनाले राम्रो खेल्न नसक्दा त्यति रमाइलो महसुस गर्न सकिएन। अर्जेन्टिनाको कमजोर खेलले उतिबेला निराश बनेको थिए। जहिल्यै विस्वकपकको बलियो दाबेदार अर्जेन्टिना ट्रफीबिहीन भएको धेरै भइसकेको छ।

अर्जेन्टीना सदाझैँ  यसपटक पनि विश्वकपको दाबेदार मानिएको थियो। फाइनलमा पुगेर अर्जेन्टिनाले उपाधीको हकदार भएको प्रमाणित पनि गरेको छ। म्यारोडनामा लिगेशी र लोयनल मेस्सीबाट प्रेरित अर्जेन्टिना आज राति फिफा विश्वकप फुटबलको २१औ संस्करणको विजेता फ्रान्ससँग फाइनलमा भिड्ने छ।

अर्जेन्टिना पनि दुई पटकको विश्व विजेता हो। सन् १९७६ मेक्सिको र १९८२ स्पेनमा आयोजित विश्वकप फुटवलको उपाधि अर्जेन्टीनाले कब्जा गरेको थियो। त्यसयता तेस्रो पटक विश्व विजेता बन्‍न अर्जेन्टिना निरन्तर प्रयास गरिरहेको छ। यसपटक पनि उपाधिको दाबेदारका रुपमा हेरीएको छ। छनोट चरणमा उत्कृष्ट खेल्ने अनि विश्‍वकपमा खराब खेल प्रर्दशन गर्ने टिमका रुपमा रहेको दक्षिण अमेरिकी टिमले कतारमा जारी प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेको छ।

रुसमा भएको फिफा विश्वकप फुटबलको २१औ संस्करण अन्तर्गत समूह चरण पार गरेर अर्जेन्टिना लाई नकआउट चरणमा पुग्‍न पनि कठिन भएको थियो। हामी बहुसंख्यक नेपालीको माया पाएको अर्जेन्टिनाले यसपटक पनि पहिलो खेलमा समर्थकलाई स्तब्ध बनायो।

समूह चरणका पछिला खेलहरुमा सम्हालिएर खेल्दै यतिबेला उपाधिको नजिक पुगेको छ। तर, आज रातिको फाइनल खेलमा फ्रान्सलाई पराजित गरेर विश्व विजेता बन्‍नेछ। अघिल्लो विश्‍वकपमा फ्रान्सका किशोर एम्बापेले हानेको तीन गोलका कारण घर फर्केको अर्जेन्टिनालाई उपाधि कब्जा गर्न कम चुनौती भने छैन। यतिबेलाका युवा एम्बाप्पेको स्पिडमा ब्रेक लगाउनु अर्जेन्टिनाको रक्षापंक्तिका लागि बहुत चुनौतीपूर्ण छ।

क्लब फुटबलका यी हस्ती यसअघि अर्जेन्टिनाका लागि भने त्यति राम्रोसँग खेल्न सकेका थिएनन्। यो खेलमा अर्जेन्टिना मात्र हार्ने छैन मेस्सी त्योभन्दा धेरै गुमाउने छन्, योचाहीँ पक्का हो। यी जब्बर खेलाडीलाई यसअघि क्लब फुटबलमा उत्कृष्ट भए पनि आफ्नो देशका लागि योगदान गर्न नसक्ने हस्तीको रुपमा हेरिन्थ्यो।

आफ्नो देशलाई कोपा अमेरिका जिताएर आएका मेस्सी यो पटकको प्रतियोगितामा उत्कृष्ट खेल पर्दशन गरिरहेका छन्। आज रातिको खेलमा अर्जेन्टिनालाई जित्‍नैपर्ने दबाब छ। तर मेस्सी भने यो विश्‍वकपमा दबाबमा छैनन्। आफ्नो देशको नेतृत्व गरिरहेका मेस्सीले आफ्नो पूरा टिमको साथ पाएका छन्। खासगरी अर्का स्ट्राइकर २२ वर्षीय जुलियान अल्भारेको दरो साथले उनी दबाबमा छैनन्।

समूह  चरणको सुरुवातमा धक्का खाएपछि नकआउट चरणको बाधा पार गर्न नसक्ने आँकलन गरिएको आफ्नो टिमलाई फाइनलसम्म डोर्‍याउन मेस्सीको ठूलो योगदान छ। अर्जेन्टिना आज उपाधिसहित घर फर्किन्छ भन्‍नेमा म र जस्तै करोडौं प्रशंसकहरु पूरा आशावादी छौं।

तर,कथम-कदाचित अर्जेन्टिना फेरि पनि पहिलेझैँ रित्तै घर फर्के पनि  यो प्यारो टिम लाई मेरो समर्थ जारी रहने छ। अर्जेन्टिनासँग मेरो पनि भावनात्मक सम्बन्ध छ। किनकी अर्जेन्टिना मेरो कान्छा बुबाको प्रिय फुटबल टिम। द्वन्द्वका क्रममा दुई दशकअघि बेपत्ता साविकको कुइका गाविसका दुई कार्यकालका मेरा कान्छा बुवा ( नरेन्द्र तिमिल्सैना ) लाई मन पर्ने टोलि थियो। त्यसैले विश्वकप फुटबलमा मलाई मन पर्ने टोलीको सूचीबाट अर्जेन्टिना हट्ने छैन। 

कुनै बेला मैले र कान्छा बुवाले अर्जेन्टिनाका स्टार खेलाडी ग्याबिरियल बाटिस्टुटा र हर्नान क्रेपोको खेल हेरेका थियौं। हो, त्यसैले  कान्छाबुवाकाको सम्झनामा म अर्जेन्टिनाको समर्थक थिए, छु र समर्थक रहिरहनेछु। साथै आफ्नो समयका स्टार खेलाडी बाटिस्टुटा र क्रेपोलाई पनि निकै सम्झिन्छु। अर्जेन्टिनाले आज रातिको खेल हारे पनि जिते पनि मेरा लागि राजनीति दलमा जस्तो नेपाली कांग्रेसको विकल्प छैन, त्यस्तै फुटबलमा अर्जेन्टिनाको विकल्प छैन।