मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने कांग्रेसभित्र माग

प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने कांग्रेसभित्र माग


काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । नेता शेखर कोइराला पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् ।

कोइराला पक्षधर सांसदहरुको हिजोको बैठकमा प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली र माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको छ । भोलि फेरि बैठक बसेर आफ्नो रणनीति तय गर्ने उनीहरुको तयारी छ ।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरुले पार्टी सभापतिको कार्यशैलीको आलोचना गरेका छन् । यसअघि पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कांग्रेसमा विरोध भएको थियो ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत हुने भन्दै असहमति जनाएका थिए । त्यसबेला सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर त्यसबारे निर्णय लिने प्रयास गरे पनि विरोध बढ्न थालेपछि अन्तिम समयमा कार्यसम्पादन समितिबाट विश्वासको मत दिने निर्णय भएको थियो ।

देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुख र उपसभामुखको चुनावमा फरक समीकरण बनाउन प्रयास गरे पनि त्यो सफल भएको छैन । कोइराला पक्षधर नेताहरुले सभापति देउवाबाट फेरि गल्ती भएको भन्दै अब पार्टीलाई सही ढङ्गले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।ujyaaloonline