मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दादुराबारे जान्नैपर्ने कुरा

दादुराबारे जान्नैपर्ने कुरा


दादुरा मिजल्स् भाइरसबाट हुने अति संक्रामक रोग हो। यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेष गरी बालबालिकालाई लाग्न सक्दछ। अति संक्रामक भएको कारणले गर्दा यो रोगले छिट्टै महामारीको रूप लिन सक्छ। यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।

दादुराका चिन्ह वा लक्षणहरु
• उच्च ज्वरो आउनु

• खोकी लाग्नु

• आँखा रातो हुनु

•  शरीरमा राता मसिना बिमिराहरु देखिनु

• नाकबाट पानी बग्नु

यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने. श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुने जस्ता जटिलताको कारण मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ। त्यसैले दादुराका चिन्ह वा लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।

दादुराको बिरामी पत्ता लागेमा गरिने उपचार तथा व्यवस्थापन
• शंकास्पद बिरामीहरूमा दादुराको लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने

• महामारी फैलन नदिन शंकास्पद बिरामीहरूलाई आइसोलेसनमा राख्ने

• हाच्छिउँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने।

• व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने 

• बेला बेलामा साबुन पानीले मिचिमिची हात धुने

• संक्रमित व्यक्तिलाई भिडभाड भएका सार्वजनिक ठाउँहरू नलैजाने र नपठाउने

• घरभित्र हावा ओहोरदोहोर हुने, सफा र घाम लाग्ने कोठामा राख्ने

• संक्रमित बालबालिकालाई स्याहार गर्ने व्यक्तिले मास्क लगाइरहने

दादुरा संक्रमित बालबालिकालाई साविकभन्दा बढी पोषिलो खानेकुरा खुवाउने गरौं। दादुरा भएका प्रत्येक बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार भिटामिन ए खुवाउनु पर्दछ।

दादुराबाट बच्न अपनाउनुपर्ने रोकथामका उपायहरु
• ८ महिना र १५ महिनाका बालबालिकालाई दादुरा-रूबेला मिश्रित २ मात्रा खोप अनिवार्य लगाउने।

• ५ वर्ष मुनि बालबालिका दादुरा-रूबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने

• दादुरा-रूबेला भएको बिरामीको सम्पर्कबाट टाढा रहने।

• ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई वर्षको १ पटक वैशाख र कात्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउने

• बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरू खुवाउने र सरसफाइमा ध्यान दिने

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय