मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘द पोयट आइडल’को मञ्चबाट मुनुको आग्रह

‘द पोयट आइडल’को मञ्चबाट मुनुको आग्रह


कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो ‘द पोयट आइडल’मा कैलालीकी मुनु अधिकारी उत्कृष्ट ६ मा परेकी  छन्।

सयौं प्रतिस्पर्धीलाई उछिन्दै  ‘पोयट आइडल’मा छानिएकी मुनु अन्तिम १४ जनाबाट उत्कृष्ट ६ जनाभित्र पर्न सफल भएकी हुन्।

‘मेरा आँखाहरु सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म आफैँले आफैँलाई निर्धक्क मारेको हेर्न सकेनन्’, ‘परदेशीको पीडा’ लगायतका थुप्रै मर्मस्पर्शी कविता ‘द पोयट आइडल’को मञ्चमा प्रस्तुत गरेर निर्णायक र दर्शको मन जितिरहेकी मुनुलाई धेरैले ‘शो’को उपाधि विजेताको दाबेदार ठानेका छन्। 

मान्छेका जीवन व्यथा, पीडा र प्रेम उनेर कवितामा पस्कने मुनु कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खड बजारमा हुर्किएकी हुन्।

‘म हत्यारा हुँ, चमेलीको रातो रिविन’ लगायतका उनले प्रस्तुत गरेका कविताले दर्शकको मन जितेका छन्। सामाजिक सञ्जाल, टिकटकलगायत उनका कविता लोकप्रिय छन्।  ‘कविता लेख्दाखेरि म आफैँलाई पाउँछु’, मुनु कविता लेख्नुको कारण सुनाउँछिन्।

धनगढीको स्टेपिङ स्टोन इंगलिस स्कुलबाट एसएलसी पास गरेकी मनु दिल्लीमा सीए अध्ययन गरिरहेकी छन्। मुनुले आफूलाई भोट गर्न संसारभरि छरिएर रहेका साहित्य अनुरागी नेपालीसँगै सुदूरपश्चिमेलीहरुसँग आग्रह गरेकी छन्।

भन्छिन्, ‘प्रतिस्पर्धामा सहभागी भएपछि जित्नु हार्नु त छँदै छ, म छाप छाड्न चाहन्छु। जसले भोलि इतिहास लेख्नेछ।’