मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ वर्षका लागि ६० प्रतिशत होटल बुकिङ, कहाँ के हुँदैछ ?

नयाँ वर्षका लागि ६० प्रतिशत होटल बुकिङ, कहाँ के हुँदैछ ?


आगामी शुक्रबार नयाँ वर्षको पहिलो दिन। काठमाडौं उपत्यकासँगै बाहिरका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरू भइसकेको छ।

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भइरहेको व्यवसायीहरूले बताएका छन्।

चितवनको सौराहामा ६० प्रतिशत होटल बुकिङ भइसकेको छ। क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा केही दिनअघिबाटै बुकिङ सुरू भएको हो। सौराहाका विभिन्न होटलमा नयाँ वर्षकै लागि भनेर २० प्रतिशतसम्म छुट व्‍यवस्था छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको उनले बताए।

कोभिडपछि यसपालि सौराहामा आन्तरिकसँगै विदेशी पर्यटक पनि बढेका छन्, घिमिरेले सेतोपाटीसँग भने, नयाँ वर्षको दुई दिन सौराहा भरिभराउ हुने देखिएको छ।

उनका अनुसार सौराहा घुम्न पनि यो उपयुक्त सिजन हो। जाडो महिनाको अन्त्य र गर्मी महिनाको सुरूवातसँगै घुम्न सौराहा उपयुक्त मानिन्छ। यहाँको मुख्य आकर्षण जंगल सफारी हो। प्रकृतिसँग रमाउँदै, जनावर हेर्दै जंगल सफारी गर्न पाइने भएकाले सौराहाले पर्यटक आकर्षित गर्दै आइरहेको उनको भनाइ छ।

अर्को पर्यटकीय गन्तव्य पोखरामा पनि होटल बुकिङ सुरू भइसकेको छ। नजिक र धेरैको रोजाइमा पर्ने पोखरामा यसपालि नयाँ वर्षमा ुफेवा महोत्सवु हुँदैछ। चैत २९ देखि वैशाख १ गतेसम्म १८औं फेवा महोत्सव हुने क्षेत्रीय होटल संघ पोखराले जनाएको छ।

नयाँ वर्ष महोत्सवले कोभिडपछि सुस्ताएको पर्यटनलाई पुनरूत्थान गर्दै लयमा ल्याउने संघका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्। पर्यटक आकर्षित गर्न पोखराका होटलहरूले पनि २० प्रतिशतसम्म छुट दिने उनले बताए।

पोखरामा तीन दिनसम्म सांस्कृतिक कार्यक्रम हुनेछ। विगतमा निश्चित क्षेत्रमा महोत्सव हुन्थ्यो, यसपालि सडकमै कार्यक्रम हुन्छ। यसका लागि टिकट चाहिँदैन, सुवेदीले भने।

यस्तो कार्यक्रममा तीन लाख जनाभन्दा बढी पर्यटक पुग्ने संघको अनुमान छ। पर्यटकीय सिजन भएकाले अहिले पोखरामा पर्यटक आगमन उत्साहजनक नै रहेको उनले बताए।

पदयात्राको सिजन भएकाले पनि पोखरा हुँदै जाने पर्यटकको राम्रो चहलपहल छ, उनले थपे, अहिले ३० प्रतिशत होटल बुकिङमै छन्। अब नयाँ वर्षका लागि पनि सुरू भइसकेको छ।

पोखरामा एक हजार २ सयभन्दा बढी होटल छन् जसमा ४० हजारभन्दा बढी कोठा छन्।

तनहुँको बन्दीपुरमा पनि नयाँ वर्षका लागि चहलपहल सुरू भएको छ। बन्दीपुरमा यसपालि नयाँ वर्षका लागि विभिन्न कार्यक्रम नै आयोजना गरेर पर्यटक आकर्षित गराइएको बन्दीपुर पर्यटन विकास समितिले बताएको छ।

उनका अनुसार आगामी वैशाख १ गते बन्दीपुरका होटलमा पुग्ने पहिलो ग्राहकले एक रूपैयाँमै एक रात बस्न पाउने भएका छन्। नयाँ वर्षलाई लक्षित गर्दै बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यस्तो प्रयास गरेको समितिका अध्यक्ष किसान श्रेष्ठले बताए।

यो सुविधा पाउन बन्दीपुरको होटलमै पुगेर बुकिङ गर्नुपर्नेछ।

बन्दीपुरको होटलमा पुग्ने पहिलो पर्यटकले वैशाख १ गते एक रूपैयाँमा एउटा कोठा पाउनेछ, उनले भने, कोठामा दुई जना बस्न मिल्छ। खानाका लागि भने तिर्नुपर्छ।

कोभिडले थला पारेका बेला बन्दीपुर उकास्न विभिन्न प्याकेज बनाइरहेको उनी बताउँछन्। नयाँ वर्ष विशेष बनाउन बन्दीपुरमा विभिन्न कार्यक्रम पनि हुनेछन्। अध्यक्ष श्रेष्ठका अनुसार चैत ३०, वैशाख १ र २ गते ९बिहीबार, शुक्रबार र शनिबार० बन्दीपुरमा १५ वटाभन्दा बढी कार्यक्रम हुनेछन्।

बन्दीपुरका ठाउँठाउँमा लाखे नाच, बाघ जात्रा, पुतली ट्रे, बिस्केट यात्रा, चुड्का, घाटु लगायत सांस्कृतिक तथा मौलिक कार्यक्रम राखिएको उनले बताए। पाहुना आकर्षित गर्न होटलहरूले आ–आफ्ना तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरिरहेका छन्।

बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ। साना–ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्।

भैरहवा पनि नयाँ वर्ष सडक महोत्सवको तयारी भइरहेको सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले बताए। आगामी चैत ३० गते बेलुका साढे पाँच बजेदेखि राति १२ बजेसम्म स्ट्रिट फुड फेस्टिभलु हुँदैछ। सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔुं नाराका साथ होटल तथा रेस्टुरेन्ट संघले यो महोत्सव गर्न लागेको हो।

२०७२ को भुइँचालो, नाकाबन्दी र कोरोना महामारीले थला परेको भैरहवाको पर्यटन क्षेत्र उठ्ने क्रममा रहेको श्रेष्ठ बताउँछन्। उनका अनुसार अहिले आन्तरिकसँगै भारतीय पर्यटक आगमन बढेको छ। नयाँ वर्षका लागि केही होटल बुकिङ भइरहेको उनले बताए।

पहिलेको अवस्थामा नगए पनि अहिले केही होटलहरू ४० प्रतिशतसम्म भरिएका छन्, उनले भने।

काठमाडौं उपत्यकाबाट नजिक रहेको नगरकोट, धुलिखेल लगायत गन्तव्यमा पनि नयाँ वर्ष मनाउन होटल बुकिङ सुरू भइसकेको छ। यसपालि नयाँ वर्षमा पहिलोपटक काठमाडौंमा नेपाल टुरिजम फेस्टिभलु हुँदैछ।

वैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा हुने उक्त फेस्टिभलमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनसँगै नीतिगत विषयमा छलफल हुनेछ। दुई दिने फेस्टिभलमा व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजारु, पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालयु, पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपालु लगायत विभिन्न १५ वटा सेसन हुने नेपाल पर्यटन बोर्डले जनाएको छ। – सेतोपाटी