मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाको दृष्टि ठिक भए/नभएको कसरी थाहा पाउने ?

बालबालिकाको दृष्टि ठिक भए/नभएको कसरी थाहा पाउने ?

सुदूर आज

काठमाडौं । जन्मिएको तीन महिनादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको दृष्टि (आँखाको भिजन) विकासको अत्यन्तै महत्वपूर्ण अवधि हो ।

यो उमेरसम्म उनीहरूको दृष्टिमा हुने सबैखाले विकास भइसक्नुपर्ने भएकाले यसलाई जटिल अवधि पनि भन्ने गरिन्छ । आठ वर्षको उमेरसम्म हुने गरेका कतिपय दृष्टिसम्बन्धी समस्याहरू समयमै उपचार गरे ठिक हुने चिकित्सकहरू बताउँछन् ।

शिशुको जन्मिएको तीन महिनासम्म रुँदा आँसु आउनु र आँखामा चिप्रा बस्नु आँखामा हुने समस्याको लक्षण हुन् ।

आँखारोग विशेषज्ञ डा.सविना श्रेष्ठका अनुसार जन्मजात समस्याबाहेकका अवस्थामा तीन महिनाको उमेरदेखि शिशुहरूको दृष्टिमा समस्या भए नभएको अवस्था अभिभावकले नै पहिचान गर्नसक्छन् ।

तीन महिनाको शिशुले अरुलाई हेरेर मुस्कुराउने वा केही प्रतिक्रिया दिने, प्रकाश भएको ठाउँतिर हेर्ने गरेमा उसको आँखा स्वस्थ भएको संकेत हो ।

त्यस्तै, उनीहरूले कसैले बोलेको आवाजलाई पनि पछ्याउँछन् । तर यसो नगरेमा उनीहरूको दृष्टिमा समस्या छ की भन्ने आँकलन गर्न सकिन्छ ।

यदि शिशु बामे सर्दा वा हिँड्दा लडिरहन्छन्, नयाँ ठाउँमा हिँड्दा लड्छन्, हिँड्नलाई कसैको सहारा खोज्छन् भने पनि उनीहरूकोे दृष्टिमा समस्या हुनसक्छ ।

त्यसैगरी विद्यालय जाने उमेरका बालबालिकाको प्रस्तुती अरुको तुलनामा कमजोर छ, कपीमा सार्न धेरै ढिलो गर्छन् वा अशुद्ध सार्छन् भने पनि दृष्टीमा कमजोरी भएको हुनसक्छ ।

बालबालिकाले कुनैपनि वस्तु, स्क्रीन आदि एकदमै नजिकबाट हेर्छन् वा आँखा चिम्सो बनाएर हेर्छन् भने दृष्टीमा समस्या भएको अनुमान लगाउन सकिन्छ । यस्ता समस्याहरु चस्माको प्रयोगले पनि समाधान हुनसक्छन् ।

यदि आँखाको डिल वा बाहिरी वरीपरी कुनै गिर्खा भएमा , आँखाको संरचनामा नै समस्या भएमा पनि सामान्य शल्यक्रियामार्फत् समस्या समाधान गर्न सकिने डा. श्रेष्ठ बताउँछिन् ।