मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सङ्घले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ‘ललिपप’ मात्रै देखायाे : मुख्यमन्त्री शाह

सङ्घले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ‘ललिपप’ मात्रै देखायाे : मुख्यमन्त्री शाह


काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् ।

मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले सङ्घीय सरकारले आफू दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाए । उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे । प्रदेश मातहतमा पर्ने राजस्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत सङ्घीय सरकारको नियन्त्रणमा रहेर एकाधिकार जमाएको बताए ।

उनले भने, ‘केन्द्र सरकारले राजस्व सङ्कलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गर्‍याे, असमान वितरण प्रणाली लागू गर्‍याे, विकासलाई समातामूलक रूपमा गरेन । भन्सारमा उठेका महसुल केन्द्रमा नै आए अनुदान दिन्छौँ भन्ने केन्द्र सरकारले अधिपत्य कायम राख्न खोज्यो । प्रदेश र सङ्घीय सरकारबीच अधिकारको विषयमा लडाइँ रहेको छ । प्रदेश सरकारलाई अधिकार दियौँ भनेर ललिपप खुवाएजस्तै छ । सङ्घीय सरकार दाता र प्रदेश सरकार भिक्षुकजस्तै भएका कारण दबाब दिन थालिएको हो ।’

मुख्यमन्त्री शाहले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र सङ्घीय सरकारबीच अधिकार बाँडफाँटमा लडाइँ गर्नुपरेको बताए । सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्यभित्र छिर्न नपाएको उनको गुनासाे छ ।