मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘राजाकै पालामा अस्ट्रेलिया पुगेको थियो राष्ट्रिय ध्वजावाहक’

‘राजाकै पालामा अस्ट्रेलिया पुगेको थियो राष्ट्रिय ध्वजावाहक’


२२ चैत, सिड्नी । कोरोना भाइरसको संक्रमण रोक्न नेपालले दुई हप्तासम्म लकडाउन गरेपछि विदेशी पर्यटकहरु अप्ठ्यारोमा परे । तीमध्ये अस्ट्रेलिया र न्युजिल्याण्डका साढे दुई सय नागरिकलाई काठमाडौंबाट उद्धार गरेर नेपाल वायु सेवा निगमको जहाजले बिहीबार अस्ट्रेलिया ल्याइपुर्‍यायो ।

अस्ट्रेलियाको नियमअनुसार महामारीका बेला विदेशी भूमिबाट आएका सबै यात्रुहरुलाई सरकारको रेखदेखमा क्वारेन्टाइनमा राखिन्छ । बिहीबार अस्ट्रेलिया आएका सबै यात्रु अहिले कुइन्स्ल्यान्डका होटेलमा क्वारेन्टाइनमा छन् ।

नेपालको राष्ट्रिय ध्वजावाहक जहाजबाट उद्धार गरिएका नेपाली मूलका केही अस्ट्रेलियनहरुले आफूहरु अस्ट्रेलियाको आकाशमा पहिलो नेपाली जहाज र नेपाली पाइलटसँग यात्रा गरेको भन्दै तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट गरे ।

क्याप्टेन विजय लामा (वायाँ) 

उक्त जहाज उडाएर आएका नेपाल एअरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले पनि अस्ट्रेलियाको आकाशमा आफूहरु नेपाली झण्डाबाहक जहाज लिएर पहिलोपटक आएको भने । सोही कुरालाई केही सञ्चारकर्मीले आजसम्मको ‘पहिलो नेपाली उडान’ वा ‘ऐतिहासिक उडान’को संज्ञा पनि दिन भ्याए ।

तर, अस्ट्रेलियाको आकाशमा उडेको यो नै पहिलो नेपाली ध्वजाजाहक उडान भने होइन । न त विजय लामा नै अस्ट्रेलियाको आकाशमा उड्ने पहिलो नेपाली पाइलट हुन् ।

तथापि नेपाल वायु सेवा निगमले संयोगबस अस्ट्रेलियामा रेस्क्यु उडान भरेर चार्टर्ड वापत केही रकम कमाउन पाएको भने यो पहिलोपटक नै हो ।

नेपालका पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमको जहाज अस्ट्रेलिया उड्नु ठीकअघि अप्रिल १ मा अनलाइनखबर अस्ट्रेलियासँग भनेका थिए, यो उडानले भविश्यमा हामीले गर्न चाहेको नेपाल-अष्ट्रेलिया व्यवसायिक हवाई सम्पर्कका लागि एक अनुभव हुनेछ ।

राजाकै पालामा अस्ट्रेलिया पुगेको थियो राष्ट्रिय ध्वजावाहक

तत्कालीन राजा महेन्द्रले सन् १९७१ मा अस्ट्रेलियाको राजकीय भ्रमण गरेका थिए । त्योबेला नेपालको राष्ट्रिय ध्वजावाहक तत्कालीन ‘शाही नेपाल वायुसेवा निगम’ बोइङ युगमा प्रवेश गरेको थिएन । उक्त निगमले सन् १९७२ मा पहिलो बोइङ ७२७ ल्याएको थियो र १२३ जना यात्रु बोकेर लामो दूरीमा यात्रा गर्ने हैसियत बनाएको थियो ।

अस्ट्रेलिया भ्रमणका क्रममा तत्कालीन राजा वीरेन्द्र ।

नेपालको सरकारी विमान सेवासँग टाढाको दूरीमा उडान गर्न सक्ने जहाज नभएकाले महेन्द्रले १९७१ मा नेपाली जहाज अस्ट्रेलियासम्म ल्याउने कुरै भएन ।

तर, अर्कोचोटि १९८५ सेप्टेम्बर १ मा राजा वीरेन्द्रले राष्ट्रिय ध्वजाबाहक शाही नेपाल वायु सेवा निगमको बोइङ ७२७ चढेर अस्ट्रेलियाको राजकीय भ्रमण गरे । बोइङ ७२७ सन् १९९३ सम्म सञ्चालनमा भयो । निगमले १९८७ ताका ‘कर्णाली’ र ‘गण्डकी’ नामका दुई बोइङ ७५७ किनेको थियो ।

सन् १९८५ अगस्त ८ को दिन अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री बब हकले जारी गरेको एक प्रेस वक्तव्यमा ‘नेपालका राजा वीरेन्द्र र रानी लक्ष्मी जेबी शाह’ अस्ट्रेलियाका गभर्नर जनरल निनियान स्टेफेन तथा श्रीमती स्टेफेनको निमन्त्रणामा सोही वर्षको सेप्टेम्बर १ देखि ८ सम्म अस्ट्रेलियाको राजकीय भ्रमण गर्न लागेको भनेर उल्लेख गरिएको भेटिन्छ ।

त्यसबेला वीरेन्द्रको राजकीय भ्रमणको समाचार संकलन गर्न अस्ट्रेलिया आइपुगेका नेपालका पुराना सञ्चारकर्मी एवम् अभिनेता नीर शाहले अनलाइनखबरसँगको कुराकानीमा आफूहरुले अस्ट्रेलियाको क्यानबेराबाट सिड्नी हुँदै डार्बिनसम्म नेपाली राष्ट्रिय ध्वजावाहक जहाजमै यात्रा गरेर नेपाल टेलिभिजनका लागि पचासौं घण्टा लामा भिडियो संकलन गरेको सुनाए ।

जसले राजा वीरेन्द्र चढेको विमान उडाए

को थिए त त्योबेला नेपाली विमान अस्ट्रेलियासम्म उडाएर ल्याउने नेपाली पाइलट ? नीर शाहका अनुसार त्यो भ्रमणको सम्पूर्ण उडानका प्रमुख भने बरिष्ठ पाइलट बबी शाह थिए । उनको टिममा पाइलटहरु आर.के. प्रधान, बी.एम. प्रधान र आर.के. लामा पनि थिए ।

उनीहरुले एक हप्तासम्म अस्ट्रेलियाको क्यानबेरा, सिड्नी, ब्रिसबेन र डार्बिनमा नेपालको सरकारी भ्रमण दललाई बोकेर नेपाली जहाज उडाएका थिए ।

त्यो राजकीय भ्रमणको समाचार संकलन गर्न नेपाल टेलिभिजनका तत्कालीन कार्यक्रम उत्पादक नीर शाहसँगै सम्वाददाता दुर्गानाथ शर्मा र क्यामेराम्यान श्याम चित्रकार पनि अस्ट्रेलिया आएका थिए ।

नेपाली सञ्चारकर्मीहरुको त्यो टिमले त्योबेला क्यानबेराको एबीसी स्टुडियोबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण गरेका थिए । यो नै नेपाल टेलिभिजनको औपचारिक प्रसारण पनि थियो । तर, त्यसबेला नेपालमा कमै टेलिभिजन सेटहरु थिए । नेपालमा टेलिभिजनको सुरुआत भर्खरै मात्र हुँदैथियो ।

राजाको राजकीय भ्रमणको खबर प्रत्यक्ष प्रसारणमा हेर्न काठमाडौंका केही स्थानहरुमा सामूहिक टेलिभिजन सेटहरुको व्यवस्था गरिएको थियो । नेपाल टेलिभिजनले त्यो क्रममा अस्ट्रेलियामा भएका नेपालीहरु इन्द्रा बन, मुरारी राना तथा पोखरामा शिक्षालय खोल्ने अस्ट्रेलियन शिक्षक लगायतको अन्तर्वार्ता पनि प्रसारण गरेको नीर शाह बताउँछन् ।

अर्का नेपाली पाइलट जो अस्ट्रेलियाको आकाशमा दुई दिन उडे

अस्ट्रेलियाको आकाशमा अन्तर्राष्ट्रिय उडानका एक अर्का नेपाली पाइलटले पनि एअरबस ३१९ उडाएका थिए । हाल नेपालको हिमालयन एअरलाइन्समा कार्यरत नेपाली पाइलट सुदीप बिस्टले २०१६को मेमा अस्ट्रेलियन फुटबल खेलाडीहरुका लागि चार्टर गरिएको बिमान फिलिपिन्सको मनिलाबाट सिड्नी उडाएर ल्याएका थिए । उनी त्योबेला तीन रात सिड्नीमा बसे ।

क्याप्टेन सुदीप विष्ट

अस्ट्रेलियाका नेपाली कानून व्यवसायी डा. शम्सेर सिंह थापालगायतका आफ्ना मित्रहरुसँग फुर्सदको समय पनि बिताएका क्याप्टेन बिष्टले रोताना जेट एभिएसनको जहाज चौथो दिन फेरि सिड्नीबाट मनिला उडान भरेका थिए । क्याप्टेन बिष्टले अनलाइनखबरसँग भने, ‘फिलिपिन्सबाट सिड्नी आउन साढे ८ घण्टा लागेको थियो र पुग्न ९ घण्टा जति लग्यो ।

सिड्नी विमानस्थलमा सरसफाइको काम गर्ने एक नेपाली मजदुरले उनको छातीमा क्याप्टेन विष्ट नाम देखेपछि उनलाई नेपाली पाइलट हो ? भनेर सोधेका थिए । आफू नेपाली भएको बताएपछि ती नेपाली मजदुरहरुले आफूसँग तस्वीर खिचेको र गौरव मान्दै उडानका लागि ‘शुभयात्रा’ भनेको उनलाई सम्झना छ ।

झन्डै ३३ वर्षको उडान अनुभव भएका विष्टले नेपाल वायु सेवा निगममा साढे १८ वर्ष काम गरे । त्यसपछि युएई, कम्बोडिया र अबुधावीमा विदेशी विमान कम्पनीमा काम गर्दै फेरि तीन वर्ष नेपाल वायु सेवा निगममै काम गरे । उनी २०१९ को सेप्टेम्बरदेखि भने नेपालको निजी विमान कम्पनी हिमालयन एअरलाइन्समा कार्यरत छन् । – onlinekhabar