मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“पूँजीवादी शिविरमा कोभिड १९ को आक्रमण”

“पूँजीवादी शिविरमा कोभिड १९ को आक्रमण”


राकेश बाब्ली ‘रक्तिम’

आज सिङ्गो भूमण्डल कोरोनाको महाव्याधीले आक्रान्त छ । लाखौ लाख मान्छे त्रासको च्याम्बरमा एकान्तवास छन् । श्रमिक र सेवक वर्ग भोकै नाङ्गैँ हालतमा ठेलिँदै छन् । नेपालका प्रवासित नागरिक हैरान परेशान छन् ।

कोरोनाको संक्रमण अंकगणितीय होइन, घातांकीय (exponential) दरमा बढ्दै छ । मान्छेहरु आफ्नो मृत सन्ततीलाई पनि एकखेप अङ्गालोमा बेरेर बिदा गर्न असमर्थ छन् । मृत प्रियाका अञ्जुलीहरु सुम्सुम्याउन असमर्थ छन् ।

ज्यामी मजदूर “छाक टाहार” को प्रताडनाले थिलथिल छन् । पूँजीपती डफ्फा जसरी भए पनि ज्यान बचाउको ध्याउन्नमा उद्दत छ । छ्याल्ब्याल चिकित्सीय संशाधन भएको पूँजीवादी तागतवर पश्चिमा चिकित्साशास्त्र पनि कोरोनाको अगाडी निरीह छ । ज्याक मा, विलगेट्स स्तरका विश्व पूँजीपति वर्ग मास्क वितरण गरेरै भएपनी संसारकै महादानबिरको उपमा ग्रहण गर्न तल्लीन छन् । महामारीले पूँजीपतिको नाफादरमा खैलाबैला मच्चाएको छ । सम्पुर्ण पूँजीवादी अर्थब्यवस्था कंम्पायमान भएको छ । यसर्थ आलेखको उपर्युक्त शिर्षक पनि सम्भवतः समय सान्दर्भिक हुन्छ ।

प्रकृतिमा हुने अनेकौं घटना र वातावरणीय प्रतिक्रियाका कारण विविध रोग, उपचार विधि बन्ने र सकिने प्रक्रिया चलिरहन्छ । अन्तरिक्षमा पनि विविध प्रतिक्रियाका कारण नयाँनयाँ पिण्ड बन्ने र सकिने प्रक्रिया चलिरहेको छ । विपरितत्वमानै एकत्व हुने गरेको छ । क्रियामानै प्रतिक्रिया हुने गरेको छ । मिसाइलमानै एण्टिमीसाइल हुने गरेको छ । रेबिजमानै एण्टिरेबिज हुने गरेको छ । बस्तुको उत्पति,बिकाश, बिनाश र फेरि विकास स्वयम् बस्तुमै अन्तर्नि्हित हुने गरेको छ । भाइरसमानै एण्टिभाइरस हुने गरेको छ । यस विज्ञान प्रदत्त तथ्यनुरुप कोभिडको एण्टिकोभिड पनि अवस्याम्भावी छ । अतः एण्टिकोभिड पत्ता नलागी सकेको अवस्थामा केहिबेर धैर्यता सहितको सावधानी अवलम्बन गर्न जरुरी छ ।

एकातिर वैज्ञानिकहरु प्रकृतिमा स्वउत्पादित कोरोना जस्ता हानिकारक सूक्ष्म जिवाणु र निदानको विस्तृत नालीबेली ज्ञात गराउन निरन्तर अनुसंन्धान र नवीन अन्वेषणमा अहोरात्र समर्पित छन् । अर्को तिर दासयुगमा व्यापक हुँदै सामन्तवादी युगमा ज्यादा विस्तार हुन पुगेको र पूँजीवादले मलजल गरिरहेको नाशवान् आदर्शवाद जीवाणुशास्त्र लाई नै च्यालेन्ज गर्दै भ्रामक वितण्डा मच्चाइ माहोललाइ झन धेरै भयभित तुल्याइ राखेको छ ।

यहि आदर्शवादको टेकोमा समग्र जीवन अडेको देख्ने कमसल चेतनाको उपज आदर्शवाद, कोभिड १९ निरोधक औषधी बने पश्चात् कोरोना ठिक पार्ने औषधी पनि वेद, गीता र बाइबलकै देन हो भन्ने अफवाह जनमानसमा प्रवाह गर्ने निश्चितप्रायः छ ।

यतिबेला विशेषतः पूँजीवादी विश्व शक्तिराष्ट्र र कोरोनाबीच भिषण टकराव भइरहेको छ । सुरुमा खासै प्रभाव नपारे पनी केहि दिन यता संसारभरिका माउ नाफाखोर पूँजीपतिहरुको मुख्यालय अमेरिकालाई कोरोनाले बेहद आक्रमण गरिरहेको छ ।

आर्य मूलका गोरा पश्चिमाहरु मंगोलीयन अनुहारका चिनीयाहरुलाइ प्रायह घृणाको नजरबाट हेर्ने गर्छ्न । अंझ भनौ चीनका रक्ताम्य क्षितिजहरुमा अझै पनि सर्वहारा मुक्तिका उषाकिरणहरु जाज्वल्यमान भइरहनाले पनि पश्चिमा अभिजात वर्ग चिनियाहरुलाइ घृणाको नजरबाट हेर्ने गर्छ । फलतः महामारीले चिनियालाइ हायलकायल बनाइरहदा पनि पश्चिमाहरूले विश्व सर्वहारा वर्गका नेता माओ त्सेतुङको मुखमा मास्क लगाएको तस्बिर छपाउँदै व्यङ्ग्य गरेका थिए । यद्दपी पश्चिमा जगत पनि कोरोनाको चपेटामा पर्दा चिनले कुनै बदलाभाव नलिएर नितान्तस् मेडिकल टिम पठाउँदै मानवीयताको उच्च नमूना प्रकट गरेको छ । यसलाइ उसको असाधारण क्षमता मान्न सकिन्छ ।

सन् १७८९ को फ्रान्सेली राज्यक्रान्ती पश्चात् दह्रो सँग जरा गाड्न पुगेको पूँजीवाद अथवा सम्भ्रान्त वर्ग पक्षिय बुर्जुवा उदारवाद सँगसँगै यसमा देखिएका गम्भीर संकट हल गर्न १९७० मा अमेरिकी नेतृत्वको पूँजीवादी खेमाले संस्थागत गर्न सुरु गरेको नवउदारवाद सोभियत संघको पतन भए सँगै हाल सम्म झन राम्ररी संस्थागत भएको छ । बुर्जुवाहरुको आखाँबाट हेर्दा नवउदारवाद प्रगतिशिल देखिए पनि यसले पटक पटक पूँजीपती वर्गलाइ नै असाधारण आर्थिक संकटमा पारिरहेको जिवन्त दृष्टान्त बाट निश्चय नै यसको क्षयीकरण प्रष्ट छ ।

९० प्रतिशत सम्पती मुठ्ठिभर पूँजीपतिको पोल्टोमा संञ्चीत हुने नवउदारवादी अर्थ नितिले नै एउटा भाइरसले बिश्वको अर्थव्यबस्थामा असाधारण खैलाबैला मच्चाउने दख्खल राख्न पुग्यो । सम्पुर्ण आर्थीक रास पूँजीपती वर्गको पोल्टोमा संञ्चित भइरहनाले यस्तो संकटको बेला सर्वहारा र निम्न मध्यम वर्ग छ्टपटाउनुको बिकल्प हुदैन ।

यसर्थ मानव समाजमा हुने यस्ता गम्भीर संकटहरुको वैज्ञानिक हल सम्पुर्ण अर्थ ब्यबस्था संन्तुलनमा राख्न सक्ने समाजवादी अर्थ ब्यबस्था बाट मात्र सम्भव छ । यो यथार्थताको पुष्टि समाजवादी भनिएका रुस, चीन, क्यूबा, उत्तर कोरिया लगायतका देशहरुले कोरोना विरुद्वको युद्वमा सापेक्षित रुपमा बिजय प्राप्त गरिरहनुले पनि प्रमाणित गदर्छ ।

थेग्नै नसक्ने कोरोनाको मारमा पिल्सिएका आफुलाई अब्बल ठान्ने चरम पूँजीवादी पश्चिमाहरू भन्दा समाजवादी मुलुकका जनतामा एक प्रकारको चेतना र उच्च ज्ञान रहेको कुरा पनि सजिलै बुझ्न सकिन्छ ।

अमेरिकी साम्राज्यवादी भूखण्ड मरणाशन्न पूँजीवादी मुख्यालय त हो नै, संहारकारी गोलाबारुद उत्सर्जनको प्रधान केंन्द्र पनि हो । यसको सम्पन्नता गरिब तथा बिकाशिल देशका प्राकृतिक स्रोतको लूटमा केंद्रीत छ । यसको अर्को भरपर्दो आर्थिक स्रोत सैन्य हतियारहरुको बेचबिखनमा केंद्रीत छ । उसकै प्रविधी मान्नु पर्ने, उसकै टेलिभिजन किन्नु पर्ने, उसकै हतियार किनि दिनु पर्ने, कमजोर देशको प्राकृतिक स्रोत उसले मात्रै लुट्न पाउने, अमेरिका भन्दा अरुले विज्ञानको क्षेत्रमा पनि अनुसंन्धान गर्न नहुने, आफुले भनेको मात्रै सबै कुरा मान्नु पर्ने, नभए चारै तिर ’सेना छ हान्छु’ भनेर सैन्य हमलाको हवाला दिने अमेरिकी साम्राज्यवादी रणनिति छ ।

स्टालीनले बचाइ राखेको पछि गद्दार संसोधनवादी ख्रुश्चेभले लेनिनको सोभियत संघ पतन गराइ सकेपछि अमेरिकी साम्राज्यावाद झन धेरै मैमत्त हुन पुग्यो । अहिले भने चीनको भिमकाय भौगोलिक आयतन सहितको आर्थिक वजन र कोभिड १९ सँगको प्रतिरोध क्षमताले चीनलाइ फेरि विश्व महाशक्तिको सानदार दर्जा प्रदान गरेको छ ।

इतिहांसले फेरि एकचोटी विश्व भरका सम्पुर्ण समाजबादी तप्काहरुलाइ चीनको अग्रदस्तामा साम्राज्यवाद विरुद्वको प्रतिरोधी मोर्चामा सरिक हुन अबेला गर्नु हुदैन भन्ने सन्देश सम्प्रेषण गरेको छ । यद्दपी चिनीया मोडेलको समाजवाद अर्थात राज्यनियन्तृत पूँजीवादबारे पंक्तिकार अज्ञात छैन ।

बिश्वभर सबभन्दा बढी माफियागिरी औषधीमा हुने गरेको छ । एलोप्याथीक औषधीशास्त्र पूँजीपतिको कब्जामा छ । नाफाको मार्जीन सबैभन्दा बढी औषधीमै हुने गर्छ ।

पूँजीवादी देशहरुले विज्ञान प्रविधिको चमत्कृत अस्त्र फेला पारी सकेपछि आफ्नो नाफाको लागि अर्को देशमा कृत्रिम रोग सिर्जना गर्दै र त्यहाँको अर्थतन्त्र कमजोर तुल्याउदै अथाह नाफा कमाउने रणनिति तर्जुमा गरिरहेका छन् । यसप्रकारको हर्कतले मानव सभ्यतालाइ एकदमै खतरामा पारेको छ । लाग्दैछ कि अब आणविक युद्वाको युग अन्त्य हुदैछ, जैविक रासायनिक युद्वको युग सुरु हँदैछ । कोरोना भाइरस पनि अमेरिका सिर्जित भाइरस हो भन्ने पत्याउन सहज छैन । यद्दपी यसले मानविय क्षति पुर्याउनुका साथसाथै अधिकांश देशको कारोबार ठप्प पारेको छ । यसर्थमा कोरोनाले पूँजीवादी शिविरमा ध्वंशात्मक आक्रमण गरेको छ ।

इतिहांसमा विरलै हुने यस्तो अन्तर्रा्ष्ट्रिय स्तरकै मानवीय सङ्कट परेको समयमा मानव र मानवताको रक्षाका लागी पनि यो महामारी र सङ्कटका विरुद्ध सबै एक भएर लाग्न आवश्यक छ ।

पेशाले सिभिल इन्जिनियर राकेश बाब्ली “रक्तिम” कम्यूनिष्ट दर्शन र सैन्य विज्ञानमा विशेष रुची राख्छन् ।