मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन प्रदेशमा कति आइसोलेसन र क्वारेन्टाइन ?

कुन प्रदेशमा कति आइसोलेसन र क्वारेन्टाइन ?


काठमाडौं । सरकारले सातै प्रदेशमा कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जनाएको छ । सातै प्रदेशमा गरी ३६ हजार ४६१ शय्या क्षमताको क्वारेन्टाइन तयार गरेको जनाएको छ ।

त्यस्तै, तीन हजार २०१ आइसोलेसनमा बेड तयारी अवस्था राखेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातै प्रदेशका क्वारेन्टाइनमा आठ हजार ५८० जना रहेका जानकारी दिए ।

उनले भने “बुधबार बेलुकासम्म काठमाडौ उपत्यकाभित्र १२ जना  र उपत्यका बाहिर १२२ जना गरी जम्मा १३४ जना मानिस आइसोलेसनमा उपचारत रहेका छन् ।” 

कुन प्रदेशमा कति क्वारेन्टाइन ?

सरकारले सातै प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जम्मा ३६ हजार ४६१ शय्या क्षमताको क्वारेन्टाइन तयार गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयले जनाएको छ । जसमा प्रदेश १ मा  तीन हजार ८ ८० बेडको  क्वारेन्टाइन तयारी अवस्थामा राखेको जनाएको छ ।

त्यसैगरी, प्रदेश २ मा तीन हजार २२७ वेड, बागमती प्रदेशमा चार हजार ३३३ बेड, गण्डकी प्रदेशमा चार हजार ७१५, प्रदेश ५ मा पाँच हजार ११६, कर्णाली प्रदेशमा दुई हजार ७८८ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ४१२ क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले विदेशबाट आएका व्यक्ति र कोरोना संक्रमण देखिएका आफन्तहरूलाई क्वारेन्टाइनमा राखेको छ । उनीहरू सबैको कोरोना भाइरस संक्रमण भए नभएको जाँच गरेर मात्र पठाउने बताइएको छ ।

कुन प्रदेशमा कति आइसोलेसन बेड ?

सरकारले सातै प्रदेशमा तीन हजार २०१ बेड तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४३२ आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । भने प्रदेश २ मा २९४ बेड तयारी अवस्था रहेको जनाएको छ ।

त्यसैगरी वाग्मती प्रदेशमा ९५८ आइसोलेसन बेड, गण्डकी प्रदेशमा २६५ आइसोलेसन, प्रदेश ५ मा ५१२ आइसोलेसन बेड, कर्णाली प्रदेशमा ४६६ र सुदूरपश्चिममा २७४ आइसोलेसन बेड तयारी अवस्था राखेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयले जनाएको छ ।

माथि उल्लेख गरिएको क्वारेन्टाइन र आइसोलेसन बेडको संख्यामा काठमाडौं उपत्यकाका अस्पतालको रिर्पोट समावेश नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल खरिपाटी र नगरकोटमा गरी २५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ । 

सरकारले आर्मी अस्पतालमा १००, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २५०, पाटन अस्पतालमा ६ शय्या र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०० शय्याको आइसोलेसन बेड तयारी अवस्था रहेको जनाएको छ । सरकारले काठमाडौं उपत्यकामा एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राख्ने घोषणा गरेको थियो ।  

नेपालमा कोरोना भाइरसको संक्रमण ९ जनामा देखिएको छ । जसमा काठमाडौंमा ३, धनगढीमा ४  र बागलुङ २ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौमा उपचारत एक जना  निको भएर घर गएका छन् भने अन्य आठ जना विभिन्न अस्पतालमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । – baarahkhari