काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता लागतार परेको झरि भोलि (आइबार) बाट रोकिने भएको छ । आज (शनिबार) अपरान्हबाट केहि ठाउँको मौसममा सुधार हुनेछ भने केहि स्थानमा भोलिबाट मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमश मौसम सफा हुँदै जाने छ । तर, केहि स्थानमा भने सामान्य र मध्यम खालको क्षणिक वर्षा हुने सम्भावना कायमै छ। काठमाडौं उपत्यकाको हकमा आज अपरान्हबाट मौसम सफा हुने छ ।
यतिखेर देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइराखेको छ । प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसमी विवरणअनुसार आज प्रदेश १, २, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ । यस्तै भोलि आइतबार प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम प्रदेश र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार गण्डकी, बागमती, कर्णाली, सुदुरपश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम, प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यो वर्ष प्री मनसुनमा अघिल्ला वर्षहरुको तुलानामा अधिक वर्षा भएको छ ।जेठ महिनामा दिपाय, धनगढी, नेपालगञ्ज, सुर्खेत, पोखरा र सिमरामा औसतभन्दा बढि वर्षा भएको छ । वैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको नेपाल समयमा खबर छ ।
प्रतिक्रिया