मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको पीडामा पनि सरकार देखिएन : कांग्रेस

जनताको पीडामा पनि सरकार देखिएन : कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना महामारीविरुद्धको लडाइँमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।

“कोरोना महामारीको निवारण र नियन्त्रणको सन्दर्भमा सरकारको यति दिनको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा नदेखिएको यो बैठक ठहर गर्दछ,” कांग्रेस केन्द्रीय समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यस पीडादायी अवस्थामा नेपाली कांग्रेस पूर्ण रुपले नेपाली जनताको साथमा रहेको छ । 

कांग्रेसले आफ्नो निरन्तरको सहयोग, संचार माध्यमको खबरदारी, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति बेहोर्न परेको ठहर गरेको छ । 

कोरोनाका सम्बन्धमा छलफल गर्न बसेको केन्द्रीय समितिको बैठकको निर्णयमा भनिएको छ, “प्रयोगशाला अत्यन्त अपर्याप्त छन्, फलस्वरुप क्वारेन्टाइनमा दिनानुदिन मानिसको संख्या बढिरहेको छ तर प्रयोगशालाको अभावमा प्रशिक्षण गति शून्य छ । फलतः संक्रमित मानिसहरु कति छन् भन्ने जानकारी नै हुन सकेको छैन । लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखी ढिलो गरी परिक्षण गर्ने कामले सही परिणाम नआउने खतरा छ । सरकारले अहिलेसम्म पनि प्रयोगशालाको संख्या र क्षमता बृद्धि गर्न सकेको छैन ।”

त्यस्तै कांग्रेसले जिल्लादेखि संघीय संसदसम्म सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध जिल्लादेखि संघीय संसदसम्म सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको हो ।

“कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेशसभा र सवै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुन यो बैठक निर्णय गर्दछ,” बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

बैठकले कोभिड १९ को महामारी नियन्त्रण गर्न, महामारीका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट प्रतिनिधिमण्डल पठाउने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कांग्रेसले कोभिड १९ का कारण उत्पन्न परिस्थितिको बारेमा अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ । – बारह्खरी