मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले ‘लकडाउन’ बाहेक केही गर्न सकेन : निधि

सरकारले ‘लकडाउन’ बाहेक केही गर्न सकेन : निधि


जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना संकटमा सरकारले ‘लकडाउन’ र ‘सोसियल डिस्टान्सिङ’ को नारा दिनुबाहेक अरु केही गर्न नसकेको आरोप लगाएका छन्।

तरुण दल धनुषासँग शुक्रबार जुम मिटिङ गर्दै उपसभापति निधिले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भइसकेको बताए। कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहे पनि परीक्षणको दायरा बढाउन नसकेको सरकार भ्रष्टाचारमा लिप्त रहेको उनको आरोप थियो।

‘दस अर्ब खर्च भइसक्यो सरकारले भनेको छ। सरकारले चाहिएको संख्यामा पीसीआरसमेत खरिद गर्न सकेको छैन, प्रयोगशालामा स्वाबको चाङ छ,’ निधिले भने, ‘दस अर्ब कहाँ र कसरी खर्च भयो सरकारले हिसाब दिनुपर्छ।’ कोरोनाको नाउँमा सरकार भ्रष्टाचारमा डुबेको उनको भनाइ थियो।

साढे दुई वर्षको कार्यकालमा कम्युनिस्ट नेतृत्वको सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको भन्दै उनले प्रदेश सरकारलाई समेत पंगु बनाएर संघीयता र संविधानविरोधी काम गरिरहेको आरोप लगाए।

‘प्रदेश सरकारहरु कार्यान्वयनमा आएको साढे दुई वर्ष बितिसकेको छ, तर, कुनै अधिकार पाएका छैनन्,’ उनले भने, ‘संघीय सरकारले प्रदेशलाई अधिकारविहीन बनाएको छ । यो संघीयताको मर्मविपरीत छ ।’

उनले केन्द्रीय सरकारको बागडोर संघीयताविरोधी पार्टीको हातमा गएको आरोप लगाए। निधिले भने, ‘संघीयता संवद्र्धन गर्न प्रदेशलाई कानुनसमेत बनाउन दिएको छैन।’ उनले कोरोनाका नाममा प्रदेश २ सरकार पनि भ्रष्टाचारमा डुबेको आरोप लगाए ।

‘नाकामा नेपाली नागरिक भोकै मर्नुपरेको छ। क्वारेन्टिनको व्यवस्थापन हुन सकेको छैन। दुवै सरकार निकम्मा साबित भइसकेका छन्,’ उपसभापति निधिले भने ।

शम्भु सदालाई न्याय दिलाउन माग

धनुषाको इलाका प्रहरी कार्यालय सबैलामा मृत भेटिएका शम्भु सदालाई न्याय दिलाउन उपसभापति निधिले सरकारसँग माग गरेका छन्। प्रहरीले आत्महत्या भनिरहेको घटनामा राति नै किन मुचुल्का तयार पार्नुपरेको भन्दै निधिले प्रश्न गरेका छन्।

शम्भुलाई न्याय दिलाउन मुसहर समुदायले उठाएको मागप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउँदै उपसभापति निधिले तरुण दल धनुषालाई सहयोग गर्न निर्देशन दिएका छन्।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई सजाय, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन माग गरेका छन्। बैठकमा सहभागी नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सरकारको गैरसंवैधानिक कदमविरुद्ध तरुण दल सडकमा जानुको विकल्प नरहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो सम्बोधनले कोरोना रोकथाम र नियन्त्रण गर्न हात उठाइसकेको प्रस्ट भइसकेको बस्नेतले बताए। ‘लकडाउनमा सरकारले केही गर्न सकेको छैन। कर असुल गर्नबाहेक सरकारलाई अरु केही मतलब छैन’, उनले भने, ‘करको नाउँमा सरकारले जनताको घाँटी थिच्ने काम गरिरहेको छ।’

तरुण दल धनुषाका सभापति सञ्जयलाभ कर्णको सभापतित्वमा भएको जुम बैठकमा जिल्ला उपसभापति राकेशविक्रम साह, नगरसभापति पंकज महतोलगायत ६० जनाभन्दा बढी नेताकार्यकर्ता सहभागी थिए।