मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरपालुवा जीवबाट मान्छेमा कोरोना सर्न सक्छ ?

घरपालुवा जीवबाट मान्छेमा कोरोना सर्न सक्छ ?


एजेन्सी । केहीदिन अगाडि स्पेनको एउटा फार्मबाट अचानक कोभिड–१९ फैलन सुरु गरेपछि त्यहाँ योजनाबद्ध रुपमा १ लाख भन्दा बढी ‘मिंक’ नामक जनावर मारिएको थियो जसले अहिले भाइरस जनावरबाट मान्छेमा वा मान्छेबाट जनावरमा सर्न सक्ने सम्बन्धी फेरि प्रश्न उठाएको छ ।  अमेरिकाको सीडीसीले भाइरस फैलाउनमा जीवजन्तुको उल्लेखनीय भूमिका रहेको सम्बन्धी हालसम्म कुनै प्रमाण नभएको बताउँदै आए पनि यसअघि दुनियाँभरका विभिन्न ठाउँमा घरपालुवा जनवारहरु संक्रमित भएको खबर आइरहेको छ । 

र यसका साथै कोरोनाभाइरसको उत्पत्ति जङ्गली जनावरबाटै भएर मान्छेमा सरेको विश्वासका कारण पनि यससम्बन्धी अधिकतम जानकारी प्राप्त गर्न आवश्यक रहेको देखिन्छ । अनिमात्र भविष्यमा कोभिड–१९ जस्ता रोगहरु पहिचान गरि छिटै नियन्त्रण गर्न सकिने बताइएको छ ।  

के जीवजन्तुलाई कोरोना हुन्छ ?

स्पेनपछि नेदरल्यान्डमा पनि २५ वटाभन्दा बढी मिंक फार्ममा कोरोनाभाइरस फेला परेको त्यहाँको सरकारले जानकारी दिएको थियो ।  यसमा मिंक फार्ममै रहेका ११ मध्ये तीन बिरालोमा कोभिड–१९ भेटिएको हो जसले नै विभिन्न फार्महरुबीच संक्रमण फैलाइरहेको हुन सक्ने अनुमान गरिएको छ ।  स्पेनको टेरुएलमा भने ८७ प्रतिशत स्याम्पल अर्थात् ९० मध्ये ७८ मा कोरोना भेटिएपछि ९२ हजार बढी मिंकहरु मारिएको हो । 

त्यसैगरी न्युयोर्क, हङकङ, नेदरल्यान्डलगायत अरु थुप्रै देशहरुमा पनि घरपालुवा कुकुर र बिरालो भाइरसबाट संक्रमित भएको खबर गरिएको थियो ।  न्युयोर्कको ब्रंक्स चिडियाखानामा त आठवटा बाघ नै कोरोना पोजेटिभ भएका थिए । 

के हामीलाई घरपालुवा जीवजन्तुबाट कोरोना सर्न सक्छ ?

अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ , सिडीसीका अनुसार जनावरले मान्छेमा कोभिड–१९ फैलाउने खतरा तुलनात्मक रुपमा एकदम कम छ र उनीहरुले घरपालुवा कुकुर वा बिरालोको नियमित परीक्षण नगराउनुपर्ने पनि बताएका हुन् ।  अमेरिकाकै एफडीएले गत जुनमा सार्वजनिक गरेको युट्युब भिडियोमा पनि जनावरले हामीलाई कोरोना संक्रमित गराउन नसक्ने देखिएको बरु उल्टै हामीले चाहिँ तिनमा संक्रमण फैलाउन सकने बताएको छ । 

तरपनि डच सरकारले भने मिंकबाट मान्छेमा कोरोना सर्न सक्ने शंकाका कारण देशभरका मिंक फार्ममा रहेका जनवारहरुको अनिवार्य परीक्षण गराउन निर्देशन दिएको हो ।  यसरी जीवजन्तुबाट कोरोना नभए पनि अन्य रोग फैलन सक्ने हुँदा जहिले पनि उनीहरुलाई छोएपछि हात धोएको राम्रो हुने स्वास्थ्यविद्हरुको सल्लाह छ । 

के कोरोना भाइरस जङ्गली जनावरबाटै आएको होइन र ?

अनुसन्धानकर्ताहरुका अनुसार कोरोनाभाइरसले मान्छेमाथि हमला गर्नु अगाडि चमेरा र प्याङ्गोलिनलाई शिकार बनाएको थियो ।  र चीनमा जंगली जीवको मासु बिक्री हुने बजारमा कुनै व्यक्ति बिरामी जीवसँग सम्पर्कमा आएकैले कोरोना संक्रमित भएको वैज्ञानिकहरुको अनुमान छ ।  तर यसमा चमेरा र प्यांगोलिनबाहेक तेस्रो कुनै जनावरले पनि उल्लेखनीय भूमिका खेलेको हुन सक्ने उनीहरुले बताइरहेका छन् । 

यसमा एउटा मात्र कुरा के स्पष्ट छ भने कोरोना भाइरसले चमेरा, प्यांगोलिन र सम्भावित अर्को तेस्रो प्रजातिलाई संक्रमित गराउँदा तिनीहरुसँग जिन बदलेको ड्युक युनिभर्सिटीको वैज्ञानिक टोलीले बताएको हो ।  त्यसैगरी अर्को कुरा मान्छेले भविष्यमा यस किसिमको महामारी निम्तिन नदिन जंगली जीवजन्तुसँगको सम्पर्क न्युन गर्नुपर्छ भन्ने पनि स्पष्ट भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले पनि प्रत्यक्ष जनावर वा तिनका उत्पादन बिक्री हुने बजारको नजिक पर्दा विशेष सावधानी अपनाइ सरसफाइको ख्याल राख्न सुझाव दिएको हो ।  त्यस्तै मासु विक्रेताहरुले पनि सुरक्षित पहिरन लगाउने र सतहलाई नियमति किटाणु रहित बनाउन सफा गरिरहन भनिएको छ । 

आफ्नो घरपालुवा जीवलाई कोभिड–१९ बाट कसरी जोगाउने ?

यसमा अहिलेका लागि भने भीडभाडयुक्त ठाउँहरु, कुकुर डुलाउने पार्क लगायतका स्थल नजान सुझाव दिइएको छ ।  ६ फुटको दुरी मान्छेमान्छेमा मात्र नभएर कुकुर बिरालोबीच पनि लागू हुन्छ ।  त्यस्तै आफू बिरामी परेको अवस्थामा सकेसम्म घरपालुवा जीवसँग सम्पर्कमा नआउने र सम्भव भए केही समयका लागि अरु कसैलाई तिनको ख्याल राख्न दिने अथवा तिनका वरिपरि रहँदा मास्क लगाएर बस्ने गर्नुपर्छ । 

घरपालुवा कुकुर, बिरालोलगायत जीव कोभिड–१९ बाट संक्रमित कसैसँग सम्पर्कमा आएमा चाहिँ पशु चिकित्सकलाई खबर गरेर सल्लाहसुझाव लिनु उपयुक्त हुनेछ ।  चीनका कतिपय घरपालुवा जीवजन्तुका मालिकहरुले आफ्ना कुकुरलाई सानो फेस मास्क लगाइदिएको पनि धेरै देखिएको थियो तर त्यसो गर्नु जनावरका निम्ति क्रुर भएको र यसले कुनै  फइदा पनि नगराउने अनि उल्टै उनीहरुलाई चिडचिडा र आक्रामक बनाइदिन सक्ने बताइएको छ । 

पशु अधिकारवादीहरुले चाहिँ तिनबाट भाइरस सर्नसक्ने डरकै कारण कतिपय मानिसहरुले आफ्नो घरपालुवा जनावरलाई छाडिदिने सम्बन्धी पनि चिन्ता व्यक्त गर्दै आएका छन् ।  दुनियाँमा पहिलोपटक एचआइभी संक्रमण चिम्पान्जीहरुको खोजी गर्दा भेटिएको थियो, त्यस्तै मर्स भाइरस ऊँटका कारण आएको थियो ।  यसरी मान्छे जति जति जीवजन्तुसँग नजिक हुन्छ त्यति नै रोगहरु वन्यजन्तुबाट मान्छेमा सर्ने जोखिम बढ्दै जान्छ । यसकारण पनि हामीले विशेषगरी जंगली जीवजन्तुहरुसँगको सम्पर्क सीमित गराउनैपर्ने हुन्छ र घरपालुवा जनावरको सरसफाइ र रेखदेखमा पनि राम्रो ख्याल राख्नुपर्छ । सीएनएन