मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेलिभिजन शो ‘ऐना’ कांग्रेस नेता विश्‍वप्रकाश शर्माले चलाउने

टेलिभिजन शो ‘ऐना’ कांग्रेस नेता विश्‍वप्रकाश शर्माले चलाउने


काठमाडौं । केही समयपछि प्रशारण हुन लागेको टेलिभिजन शो ‘ऐना’ नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्‍वप्रकाश शर्माले ‘होस्ट’ गर्ने भएका छन् । यद्यपि यसबारे आधिकारिक रुपमा भने कार्यक्रम निर्माता तथा निर्देशक कसैले पनि जानकारी दिएका छैनन् ।

स्रोतका अनुसार शर्मालगायत अरु दुईजनासँग छलफल भएपछि शर्माले नै कार्यक्रम चलाउने निश्चित भइसकेको छ । कांग्रेस नेता शर्मा यसबारे खुलेर बोल्न चाहेनन् । निर्देशक अमनप्रताप अधिकारीले होस्टभन्दा पनि कार्यक्रमको विषयवस्तु महत्त्वपूर्ण भएको भन्दै उनले केही समयपछि प्रस्तोता सार्वजनिक गरिने बताए । 

“समाजले बेवास्ता गरेका विषयवस्तु जो समाजमा छन्, त्यसलाई केही निचोड दिन सकिन्छ कि भन्‍ने हाम्रो उद्देश्य हो,” निर्देशक अधिकारी भन्छन्, “हाम्रै समाजमा भएका घटना जो हामीले नजरअन्दाज गरेर अगाडि बढिरहेका छौं यसलाई अगाडि बढाउनुपर्छ भनेर अघि बढेका हौं ।”

‘ऐना’ भारतीय टेलिभिजन शो ‘सत्यमेव जयते’ को कपीराइट नभएको भन्दै अधिकारीले आफ्नै उत्पादन हुने बताए । श्रीलंका र पाकिस्तानमा पनि यस्तै शो रहेको बताएका उनले कतैबाट प्रभावित भए पनि कपिराइट नै भने नहुने स्पष्ट पारे । 

उनले २८ जनाको समूहले कार्यक्रममा समावेश गरिने विषयवस्तुबारे ६ महिनादेखि अनुसन्धान गरिरहेको बताए । यसका अलावा कान्तिपुर पब्लिकेसनका प्रकाशन तथा प्रशारण माध्यमका पत्रकारले पनि सहयोग गर्ने निर्देशक अधिकारीले जानकारी दिए ।

सामाजिक मुद्दामाथिको टेलिभिजन शो ‘ऐना’ दी होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्न लागेको हो । २६ श्रृंखलाको कार्यक्रम सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने हुने बताइएको छ । कान्तिपुर टेलिभिजनबाट कात्तिक पहिलो सातादेखि हरेक साता एक घण्टा प्रसारण हुनेछ । 

कार्यक्रम देशका विभिन्‍न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन अनुसन्धान, घटना र पात्रहरुको मिहिन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी उठाउन खोजेको विषयमाथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम तयार हुनेछ दाबी गरिएको छ । – बारह्खरी