मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघको कार्यकाल ६ महिना थप्ने निर्णय

पत्रकार महासंघको कार्यकाल ६ महिना थप्ने निर्णय


काठमाडौं- कोरोना भाइरसको महामारीका कारण समयमै साधारणसभा हुन नसकेपछि केन्द्रीय समितिको कार्यकाल ६ महिना थप भएको छ।यही भदौ ५ गते ३ वर्षीय कार्यकाल सकिने भए पनि यो बीचमा कोरोना महामारीले काम गर्न सक्ने अवस्था नभएपछि म्याद थप गरिएको छ।

नेपाल पत्रकार महासंघको बुधबार जुममार्फत् सम्पन्न राष्ट्रिय भेलाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

भेलाले महासंघको केन्द्रीय समितिका साथै प्रदेश र जिल्ला समितिहरुको पनि म्याद ६ महिना थप गरेको महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस्ता छन् महासंघको भेलाका निर्णय

बागमती प्रदेशको राजधानी हेटौडामा तय भएको नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएको सन्दर्भमा प्रविधि (जुम वेविनार) को माध्यमबाट आयोजना भई २०७७ भाद्र ३ गते सम्पन्न भयो।

भेलाले केन्द्रीय समितिको तर्फबाट अध्यक्ष गोविन्द आचार्यबाट प्रस्तावित निम्न प्रस्तावहरु छलफलपछि परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गर्‍यो।

१. महाधिवेशन तथा निर्वाचन

क) नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ३ वर्षे कार्यकाल भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महाव्याधीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने।

ख) कोरोना संक्रमणको त्रास र श्रमजीवी पत्रकारहरुको आर्थिक अवस्थाबारे भेलामा प्राप्त रायका आधारमा महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद २०७७ भाद्र मसान्तसम्म थप गरी शाखाहरुले सो अवधिभित्रै सदस्यताको सिफारिस प्रदेश समितिसमक्ष पेश गरिसक्ने र प्रदेश समितिले असोज मसान्तसम्म केन्द्रीय समितिसमक्ष पेश गरी केन्द्रमा अभिलेख राख्ने।

ग) मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने।

घ) २०७७ फागनु ३ गते केन्द्र, प्रदेश र शाखाको निर्वाचन सम्पन्न गर्ने।

ङ) कदंकदाचित कोरोना महाव्याधीका कारण उल्लेखित कार्यतालिका कार्यान्वयनमा जटिलता उत्पन्न भएको खण्डमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अख्तियार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय भयो।

च) कोरोना महाव्याधीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले झेल्नु परको आर्थिक अभावलाई दृष्टिगत गरी २०७७ सालको सदस्यता शुल्क छुट दिई यसलाई केन्द्रीय साधारणसभाबाट अनुमोदन गरी छुटका हकमा विधानको व्यवस्था हेरफेर गर्न केन्द्रीय साधारणसभामा प्रस्ताव लान भेलाले सहमति प्रदान गर्यो।

२. कोरोना महाव्याधीका कारण आर्थिक अभाव झेलिरहेका सञ्चारमाध्यम र श्रमजीवी पत्रकारका लागि उचित राहतका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुसँग भेलाले जोडदार माग गरेको छ। र, विज्ञापनसम्बन्धी ऐन तथा श्रमजीवी पत्रकार ऐनको कडाइपूर्वक कार्यान्वयनको माग गर्दछ।

३. कोरोना महामारीको लाभ लिँदै सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने सिलसिला कायम रहेकोप्रति खेद व्यक्त गर्दै भेलाले श्रमजीवी पत्रकारको पुसमा केन्द्र, प्रदेश र शाखाहरुमार्फत सशक्त दबाबमूलक अभियान सञ्चालन गर्ने र कानूनी संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता भेलाले जनाएको छ।

४. केन्द्र, प्रदेश र स्थानीय तहबाट सञ्चारसम्बन्धी नीति र कानुन तय गर्दा प्रेस स्वतन्त्रतामा अंकुश नलगाउन तथा पत्रकार महासंघसहित सरोकार पक्षसँग छलफल गरी सहमति कायम गर्न आग्रह गर्दछ।

५. अग्रभागमा रहेर सञ्चारकर्ममा रहेकै कारण सञ्चारकर्मीहरु कोरोना संक्रमणबाट पीडित भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँहरुको उचित उपचारको प्रवन्ध मिलाउन सरकारसँग जोडदार माग गर्दै यो भेला कर्म क्षेत्रमा खटिने श्रमजीवी पत्रकारहरुलाई सम्भव भएसम्म घरबाटै काम गर्न वा कार्यालय वा फिल्डमा खटिदा प्रर्याप्त स्वास्थ्य सावधानी अपनाउन आहृवान गर्दछ।