मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्तरिक ८ गन्तव्यमा हवाई सेवा संचालन गर्ने तयारी, कुन कुन हुन् हेर्नुस

आन्तरिक ८ गन्तव्यमा हवाई सेवा संचालन गर्ने तयारी, कुन कुन हुन् हेर्नुस


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्‍चालन गर्ने तयारी गरेको छ । भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिकतर्फ पनि कोरोना संक्रमण न्यून भएका एवं नभएका गन्तव्यमा सुचारु गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।

सोही अनुसार मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद् बैठकमा समेत नमुनाका रुपमा भए पनि केही निश्चित स्थानमा हवाई सेवा सञ्‍चालन गर्न दिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको वा नगरेको भन्‍ने विषयमा औपचारिक जानकारी भने गराइएको छैन ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरुमा हिमाली तथा पहाडी क्षेत्रमा आन्तरिक विमान सञ्‍चालन गर्न सकिने विषयमा छलफल भएको बताए । सरकारले निर्णय गरेमा नागरिक उड्‍डयन प्राधिकरण र निजी क्षेत्र पनि सञ्‍चालनको तयारी अवस्थामा रहेको उनले बताए । “नमुनाका रुपमा भए पनि पहाडी र हिमाली क्षेत्रमा सञ्‍चालनका लागि छलफल भएको हो । मन्त्रिपरिषद्ले निर्णय गरे हामी सञ्‍चालन गर्न सक्ने अवस्थामा छौं । निजी वायुसेवा सञ्‍चालक पनि तयारी अवस्थामा छन्,” उनले भने ।  

आन्तरिक उडानका लागि पनि नागरिक उड्‍डयन प्राधिकरणले सुरक्षा मापदण्ड ‘प्रोटोकल’ स्वीकृत गरिसकेको छ । मन्त्रालयले लुक्ला, रोल्पा, सिमिकोट, रारा, ताप्लेजुङ, संखुवासभा, पोखरा, काठमाडौं र सुर्खेतसम्म आन्तरिक उडान गर्न दिने तयारी गरेको हो । तराईका क्षेत्रमा भने तत्काल हवाई सेवा सुरु गर्न नहुने निष्कर्षमा मन्त्रालय रहेको बताइएको छ ।

यता, निजी वायुसेवा सञ्‍चालक संघका प्रवक्ता योगराज कँडेल जसरी भए पनि आन्तरिक हवाई सेवा सञ्‍चालन गरिनुपर्ने बताउँछन् । “सरकारले नै हिमाली र पहाडी क्षेत्रमा हवाई सेवा सञ्‍चालन गर्ने भनेर कुरा अगाडि ल्याएको हो । त्यसमा हाम्रो पनि समर्थन छ,” उनले भने, “हाम्रो भनाइ जसरी भएपनि हवाई सेवा सञ्‍चालन गरौं भन्‍ने हो ।” – बारह्खरी