मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५६ प्रतिशत सङ्क्रमित निको, सङ्क्रमण अझै बढ्न सक्ने

५६ प्रतिशत सङ्क्रमित निको, सङ्क्रमण अझै बढ्न सक्ने


काठमाण्डौ – देशका कोरोना सङ्क्रमित मध्ये ५६ दशमलव ५ प्रतिशत निको भएका छन् । गएको २४ घण्टामा ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिहीबार १२ हजार ६ सय २९ जनाको परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरी एक हजार एक सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । 

बिहीबार सबैभन्दा धेरै काठमाण्डौमा २ सय ७० जना थपिएका छन् । काठमाण्डौमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनालाई कोरोना पुष्टि भएको हो । एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । 

१ सय ४७ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ३५ हजार ५ सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अहिले ६ हजार २ सय १० जना होम आइसोलेशनमा छन् । ९ हजार ४ सय ८८ जना भने क्वरेण्टीनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

५ सयभन्दा माथि सङ्क्रमित भएको जिल्लाको संख्या बढेको छ । काठमाण्डौ, ललितपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही गरी ८ जिल्लामा सङ्क्रमितको संख्या ५ सयभन्दा धेरै छ । मुस्ताङ र हुम्लामा मात्र सङ्क्रमितको संख्या शून्य छ ।

सङ्क्रमण अझ बढ्ने : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना भाइरसको सङ्क्रमण आउँदाे केही दिनमा थप बढ्ने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनुभयो । 

उहाँले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतीको सामना गर्नुपर्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र  घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले सङ्क्रमण देखिएपछि आइसोलेशनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेशनमा बस्न अनुरोध गर्नुभयो । 

प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । सकारात्मक सोच र चिन्तन गरी सबैले आ-आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उहाँको भनाइ छ । 

उहाँका अनुसार कोभिड-१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ । सङ्क्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।