मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका २१ वटा हिमताल फुट्ने खतरामा

नेपालका २१ वटा हिमताल फुट्ने खतरामा


काठमाडौं । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फट्ने खतरा रहेको देखाएको हो । 

जलवायु परिवर्तनको कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरुको आग्रह छ । शून्य दशमलव ०२ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ वटा तालहरु जोखिममा रहेको इसिमोडका वरिष्ठ जलवायु विज्ञ डा. अरुण श्रेष्ठले बताए । त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल खतरामा रहेका छन । 

प्रतिवेदनले नेपालबाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमतालहरुलाई खतराको सूचीमा रखेको छ । नेपालमा सबैभन्दा बढी कोशी बेसिन तथा तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ । 

तिब्बत क्षेत्रमा २५ र भारतमा १ वटा हिमताल यस्तो खतरामा रहेका छन् ।  कहिले फुट्न सक्छन् भनेर मिति तोक्ने सक्ने अवस्था नभए पनि तालको बनावट, पानीको आयतन, वरिपरिको संरचना र तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनाहरु जोखिममा रहेको सतर्क रहन उनले आग्रह गरे ।

जोखिम न्यूनीकरणका लागि नेपालको तर्फबाट धेरै कामहरु भएको उनको भनाइ छ । जोखिम न्यूनीकरणको पहिलो पाइलास्वरुप अहिलेको रिपोर्ट सार्वजनिक भएको उल्लेख गर्दै उनले अब स्थलगत अध्ययन गरी रिपोर्टलाई थप परिस्कृत गर्नुपर्ने बताए । अहिलेको अध्ययन भू—उपग्रहले खिचेको तस्बिरहरुको विश्लेषण हो ।

विगतमा च्छो रोल्पा र इम्दा हिमतालमा जलसतह घटाउने काम समेत भएको उनले बताए। जलवायु परिवर्तनसँग यसको सम्बन्ध भएकाले आगामी दिनमा जोखिम झन बढ्दै जाने उनले बताए । अब पानीको सतह कम गर्दै पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने उनको भनाइ छ । 

तालहरूको प्राकृतिक बाँध, स्रोत हिमतालको गतिविधि तथा वरिपरिको अवस्थाको अध्ययन गरी फुट्ने खतरा देखिएको हो । मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई अध्ययन नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  हिमतालहरु फुटेमा पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र यसले बाढीको खतरा निम्त्याउने उल्लेख गरिएको छ । 

नेपालको जलविद्युत क्षेत्रमा पनि यसले असर गर्ने सम्भावना रहेको उनले बताए ।अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली बेसिनमा ३,६२४ वटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये २,०७० वटा नेपाल, १,५०९ वटा तिब्बत र ४५ वटा भारतमा पाइएका छन् । – बारह्खरी