मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि देशभरका अस्पतालमा सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय

भोलि देशभरका अस्पतालमा सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय


काठमाडौं-  नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ उपचारबाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने निणय गरेको छ। 

२७ दिनदेखि सत्याग्रहमा बसिरहेका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संघले फेरि विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। 

डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच  सकारात्मक रुपमा छलफल अगाडि बढेपछि संघले बिहीबार विरोधका कार्यक्रम स्थगित गरेको थियो।

 शुक्रबारको छलफलमा सरकारले वार्ता सकारात्मक रुपमा अगाडि नबढाएको र शनिबार २७ औं दिनमा पनि सरकार गम्भीर नभएको भन्दै संघले सेवा बहिष्कारको कार्यक्रम सार्वजनिक गरेको हो। 

संघले आफ्ना सबै शाखा, देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त निर्णय कार्यान्वयन गर्नगराउन निर्देशन दिएको छ।

सरकार डा. केसीको जीवनरक्षाका लागि गम्भीर नभएपछि  बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ। 

डा. केसीको सत्याग्रह अन्त्य गर्न सरकारले पहल नगरेमा आन्दोलनका कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी संघले दिएको छ।

सरकारले भने डा. केसीले उठाएका अधिकांश माग पूरा भइसकेको र केही माग कार्यान्वयन गर्ने चरणमा रहेको भन्दै केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ।

उता डा. केसी पक्षले भने सरकार वार्तामा सकारात्मक रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ। दुवै पक्ष अडानमा रहेर सहमति प्रक्रिया अघि नबढाउँदा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

डा. केसीका माग सकारात्मक रहेको भन्दै नागरिक समाज र उनका समर्थकले राजधानीलगायत देशका विभिन्न ठाउँमा सरकार विरोध प्रदर्शन गर्दै आएका छन्