मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता डा. रावलले भने नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस्

नेकपा नेता डा. रावलले भने नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस्


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डाक्टर भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।

रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

‘नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्,’ रावलले भनेका छन् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने रावलको माग छ ।

तर सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको बताइसकेको छ ।

हालै हुम्लाको सीमा क्षेत्रमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो । यो सामाचार सार्वजनिक भएपछि चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएको थियो ।

केही दिन अघि मात्रै नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोलीमाथि चिनियाँ टोलीले अश्रुग्यास प्रहार गरेर लखेटेको समाचार सार्वजनिक भएको छ ।