मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने अनुमान

देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने अनुमान


काठमाण्डौ – केही दिनयता काठमाण्डौउपत्यका लगायत देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।

आज बिहान पनि काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो ।

केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो ।

जाडो सयममा न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भएको मौसमविद् विभूति पोख्रेलको भनाइ छ । उहाँका अनुसार तापक्रम अझै घट्दै जानेछ । न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि काठमाण्डौमा भने २/३ वर्षको तुलनामा यो वर्ष छिट्टै जाडो महशुस भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष आजको दिन काठमाण्डौको  न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । २/३ वर्षयतालाई हेर्ने हो भने यो वर्ष अलि छिट्टै जाडो बढेको उहाँ बताउनुहुन्छ । मौसम सफा भएकाले न्यूनतम तापक्रम घटेको र अरु कुनै कारण नभएको मौसमविद् पोख्रेलको भनाइ छ ।

मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने हुन्छ त्यसैले गर्दा बढी जाडो महशुस हुन्छ । राति आकाश खुला हुँदा जमिन चिसिँदै जाने र जाडो बढ्ने मौसमविद् पोख्रेल बताउनुहुन्छ ।  यसैबीच अहिले काठमाण्डौसहित देशका पहाडी भेगमा हल्का कुहिरो लागेको छ ।

दिउँसो कुहिरो बिस्तारै हटेर घाम लाग्ने छ । देशका अरु ठाउँको मौसम भने दिनभर सामान्यतया सफा नै रहन्छ । बेलुकातिर फेरि देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।