मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्मान पाउन प्रधानमन्त्री नै हुनु पर्दैन भन्ने कुरा गणेशमानले प्रमाणित गर्नुभयाे : नेम्वाङ

सम्मान पाउन प्रधानमन्त्री नै हुनु पर्दैन भन्ने कुरा गणेशमानले प्रमाणित गर्नुभयाे : नेम्वाङ

सुदूर आज

काठमाण्डाै – सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ । सिंहको जन्मजयन्तीका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको संवाहक र त्यागी नेताका रुपमा सम्झेका छन् । तत्कालीन समयमा राष्ट्रिय एकताका लागि उनले खेलेको भूमिकाकाे नेताहरूले प्रशंसा गरेका छन् ।

सिंहको जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमान सिंहले राष्ट्रिय एकताका लागि लिनुभएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताए । राष्ट्रिय एकताका लागि उनले लिएका कदमहरू कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित गरेको उनले बताए ।

कम्युनिष्ट र कांग्रेस भनेर सधैँ विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराउनुभएको सभामुख सापकोटाले बताए । उनले भने यो, ‘गणेशमान सिंह राष्ट्रिय एकताकाे पक्षमा हुनुहुन्थ्यो भन्ने कुरा २०४६ मा प्रमाणित भएको छ । २०४६ मा कांग्रेस र कम्युनिस्ट भनेर विभिन्न विवाद र बहस हुने गर्थे, उहाँले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गर्नुभयो । उहाँले राख्नुभएको राष्ट्रिय एकताको भावना अझै परिपूर्ण हुन बाँकी छ तर उहाँले लिनुभएको पहलका कारण कांग्रेस/कम्युनिस्ट नभनी नेपालको संविधान जारी गर्न सकेका हौँ ।’

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध सफलता हासिल भएको बताए । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूले राजनीतिलाई पेसाका रुपमा लिने गरेको भए पनि सिंहले राजनीतिलाई सधैँ सेवाको रुपमा लिने गरेको नेम्वाङले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले राजनीतिमा लागेकाहरूको बीचमा पदमा पुग्नुपर्छ । अझ शीर्ष तहमा गएकाहरू प्रधानमन्त्री हुनुपर्छ । (कसैप्रति टिप्पणी गर्न खोजेको होइन) प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक–पटक हुनुपर्छ भन्ने छ । (कसैप्रतिको टिप्पणी होइन) तर म आफै आग्रह गर्ने गर्छु, राजनीति पेसा होइन, सेवा हो । त्यति बेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो ।

आफू प्रधानमन्त्री हुनुभएन । आफ्ना साथीभाइलाई बनाउनुभयो । त्यसैले धेरै प्रधानमन्त्रीहरू भन्दा अगाडि उहाँको सम्झना गरिन्छ । उहाँको नाम अगाडि आउँछ । सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नरहेछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ ।’