मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ६८ औं विश्व कुष्ठरोग निवारण दिवस मनाइँदै

आज ६८ औं विश्व कुष्ठरोग निवारण दिवस मनाइँदै


काठमाण्डौ – आज ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।

कतिपय सङ्क्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन । कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा बिरामीको अवस्था नाजुक भएर ज्यानसमेत गएको पाइन्छ ।

विशेषगरी तराईका १६ जिल्लामा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जानु कुष्ठरोगका लक्षण रहेको डाक्टरहरुको भनाइ छ ।

नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।

नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ । कुष्ठरोगबारे नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृत्तिले जोखिम बढ्दै गएको विज्ञको भनाइ छ  ।