मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आक्रामक देउवाले उठाए राष्ट्रपतिको भूमिकामा प्रश्न

आक्रामक देउवाले उठाए राष्ट्रपतिको भूमिकामा प्रश्न


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार र राष्ट्रपतिप्रति आक्रामक देखिएका छन् । आजको संसदीय दल बैठकमा देउवा सामान्यभन्दा केही आक्रोशित देखिएको कांग्रेस सांसदहरुको भनाइ छ ।

“यो सरकार लोकतन्त्रका कुरा गर्न छोड्दैन । तर, यति धेरै प्रश्नका बाबजुत संवैधानिक परिषद् अध्यादेशजस्ता संविधानविरुद्धका कानुन बनाएर अध्यादेशबाट शासन गर्न खोज्दै छ,” देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस सांसद प्रकाश स्नेहीले भने, “यति धेरै प्रश्न बेवास्ता गर्दै राष्ट्रपतिले पटक–पटक संविधानमाथिको हमला सदर गर्दै हुनुहुन्छ ।”

देउवाले लोकतन्त्र र संविधान रक्षाका लागि वैकल्पिक सरकार अनिवार्य भएको भन्दै कांग्रेसले परिपक्व कदम उठाउन आवश्यक भएको बताएको उनले जानकारी दिए ।

जसरी पनि वैकल्पिक सरकार खोज्ने निर्णय
कांग्रेसले जसरी पनि वैकल्पिक सरकार खोज्ने निर्णय गरेको छ । शनिबार नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दल बैठकले यही वैशाख २७ गते प्रधानमन्त्रीको विश्वासको मतका विपक्षमा उभिने निर्णय गरेको हो । बैठकले अविश्वास प्रस्ताव असफल पार्न अरु पार्टीसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले संसद्मा विश्वासको मतको विपक्षमा उभिने र अन्य दललाई पनि विपक्षमा उभिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसपछि वैकल्पिक सरकारको अभ्यास सुरु हुने बताए ।

“संसद्मा प्रधानमन्त्री आफैँले विश्वाको मत माग्दै हुनुहुन्छ, त्यो असफल हुनु भनेको प्रधानमन्त्रीको पद रिक्त हुने अवस्था हो,” संसदीय दल बैठकपछि खाँणले भने, “प्रधानमन्त्रीको विश्वासको मत असफल भएपछि संविधानको धारा ७६ को २ अनुसार वैकल्पिक सरकारको अभ्यास सुरु हुन्छ ।” उनले त्यसपछि कांग्रेसले वैकल्पिक सरकार दिन पहल गर्ने बताए ।