मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको पत्र संसद् सचिवालयमा दर्ता

राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको पत्र संसद् सचिवालयमा दर्ता


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय् संसद सचिवालयमा दिएका छन्। ठाकुरको मात्र हस्ताक्षर भएको पत्र सचिवालयमा दर्ता गरिएको छ। 

‘मिति २०७८–०१–३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ,’  उनले बुझाएको पत्रमा भनिएको छ। संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि समेत पठाएर ठाकुरले यस्तो जानकारी गराएका हुन्।

जसपाको उपेन्द्र बाबुराम पक्षले विधान विपरीत निर्णय गरेको बताइरहेका बेला ठाकुरले दलको नेता चयन गरेको जानकारी संघीय संसद् सचिवालयलाई गराएका हुन्। आजै जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गरेर पार्टीको विवाद समाधान गर्ने जनाएका थिए।

दुवैले गरेको हस्ताक्षरमा पार्टीभित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गरिनु पर्ने र पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तर्गत रहेर नै समस्याहरुको समाधान गर्नुपर्ने उल्लेख छ।