मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यास चक्रवातको प्रभाव घटेसँगै मौसम सुधार हुन थाल्यो

यास चक्रवातको प्रभाव घटेसँगै मौसम सुधार हुन थाल्यो


काठमाण्डाै – आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको उनले बताए । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि-मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि गण्डकी, लुम्बिनी र प्रदेश-२ का केही ठाउँमा पानी परिरहेको छ । आज प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हिमाली क्षेत्रहरुमा आज पनि हिमपात र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

वसन्तकालीन आरोहण सिजन सकिन लागेकाले आरोहीहरु मौसम सुधारको पर्खाइमा रहेका बेला महाशाखाले आज पनि सावधानी अपनाउन आग्रह गरेको हो । यो समयमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने र वर्षाका कारण बाढी, पहिरो, सडक बन्द हुने जस्ता समस्या आउन सक्ने भएकाले सचेतना अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।