मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् ओली सरकारका दम्पती मन्त्री!

यी हुन् ओली सरकारका दम्पती मन्त्री!


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरी नेकपा एमालेका नेता दम्पतीहरूलाई पालैपालो मन्त्री बनाउन थालेका छन्।

रघुवीर महासेठ दम्पतीलाई एकपछि अर्को मन्त्री बनाउँदै आएका ओलीले महासेठलाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पेको एक साता नबित्दै माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापाकी श्रीमती नैनकला थापालाई पनि सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्। नैनकलाले बिहीबारै मन्त्रीको शपथ लिँदैछन्। 

नैनकलालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने ओलीको तयारी छ। हालैमात्र सांसद र मन्त्री दुवै पदबाट मुक्त भएका थापाकी पत्नी नैनकलालाई मन्त्री बनाएर ओलीले उनलाई फकाइराखेका हुन्।

नेकपा विभाजनपछि माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि थापाले सांसद पद गुमाएका थिए। जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा उनी डा खिमलाल देवकोटासँग पराजित भए।

सोही दिन सर्वोच्च अदालतले सांसद पद गइसकेपछि मन्त्रिपरिषद्‍मा नियुक्त गरिनु असंवैधानिक ठहर गर्दै नियुक्ति बदर गरिदिएको थियो। अदालतको फैसलापछि बादल सांसद र मन्त्री दुवै पदविहीन बन्न पुगेका थिए। 

ओलीले नेकपा विभाजन र पहिलो पटक प्रतिनिधिसभा विघटनपछिको कठिन समयमा साथ दिएका बादललाई फकाउन नैनकलालाई मन्त्री नियुक्त गरेका हुन्। बादल पत्नी नैनकला यसअघि महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन्।

जेठ २१ गते पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। यसअघिदेखि नै प्रधानमन्त्री ओलीले रघुवीर महासेठ दम्पतीलाई पालैपालो मन्त्री बनाएका थिए। महिला बालिबालिका तथा समाज कल्याणमन्त्री रहेकी जुलीकुमारी महतोलाई पदमुक्त गरी जेठ २१ गते प्रधानमन्त्री ओलीले जुलीका पति रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाएका थिए। 

जुली मन्त्री हुनुअघि नै रघुवीर करिब २० महिना ओली सरकारका मन्त्री थिए। ओली सरकारमा उनीहरू एकपछि अर्को गर्दै विवादित मन्त्री बनेका थिए। 

उता, ओली सरकारमै स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका शेरबहादुर तामाङका दम्पती नै मन्त्री छन्। उनकी श्रीमती उषाकला राई प्रदेश १ मा सामाजिक विकासमन्त्री छन्।

नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ दम्पती नै मन्त्री बनेका हुन्। 

तामाङ दम्पती पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड(माधव समूहमा लागेका थिए। प्रचण्ड–माधव समूहको भेला, प्रदर्शन र कार्यक्रमहरूमा सहभागी भएको यो दम्पती फागुन ८ मा भने ओली समूहमा फर्किएको थियो। 

शेरबहादुर तामाङ प्रतिनिधिसभाको गत निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए भने प्रदेश १ को प्रदेशसभामा उषाकला समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्।

यसअघि पनि कानुनमन्त्री बनिसकेका तामाङले बंगलादेशमा पढ्ने नेपाली छात्राहरूका विषयमा ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि राजीनामा दिएका थिए। – नेपालसमय