मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान्सरभन्दा घातक ‘म्युकरमाइकोसिस’ जसको औषधि नेपालमा सहज उपलब्ध छैन

क्यान्सरभन्दा घातक ‘म्युकरमाइकोसिस’ जसको औषधि नेपालमा सहज उपलब्ध छैन


काठमाडौं । पछिल्लो समय नेपालमा कोभिड संक्रमितहरूमा म्युकरमाइकोसिसको समस्या जटिल रूपमा देखिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हालसम्म १६ जना कोभिड संक्रमितमा म्युकरमाइकोसिस देखिएको छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार अहिलेसम्म यो संक्रमणबाट मृत्यु भएको पुष्टि नभएपनि केही दिनअघि सेती अस्पतालमा मृत्यु भएका एकजना कोभिड संक्रमितमा म्युकरमाइकोसिस देखिएको थियो । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको अस्पतालका म्युकर म्यानेज्मेन्ट कमिटी संयोजक डा. रविन्द्रभक्त प्रधानाङ्ग बताउँछन् । 

उनका अनुसार सुरुमा कोभिड संक्रमित ३ जना म्युकर संक्रमितको सफल शल्यक्रिया गरिएको थियो । दोस्रो चरणमा शल्यक्रिया गरिएका १ जनाको मृत्यु भयो भने ३ जनालाई औषधि चलाइएको छ । अहिले अस्पतालमा भर्ना भएकामध्ये १ जनाको शारीरिक समस्याका कारण शल्यक्रिया गर्न मिल्ने अवस्था छैन भने अर्का १ जनाको २/३ दिनभित्रै शल्यक्रिया गरिनेछ  । 

यसरी म्युकरमाइकोसिस देखिएर भएर आउनेमा भारतसँग सीमा जोडिएका वीरगञ्ज, जनकपुर, नेपालगञ्जका मात्रै नभई काठमाडौं उपत्यका भित्रकै संक्रमित पनि छन् । यो समस्या देखिएका अधिकांशमा अगाडि नै मधुमेह र केहीमा मिर्गौलासम्बन्धी रोग पहिचान भएको डा. प्रधानाङ्गले बताए । 

कसलाई हुनसक्छ म्युकरमाइकोसिस ?

म्युकरमाइकोसिस हाम्रो वरिपरिको वातावरणमा पाइने कालो ढुसीको एउटा खतरनाक प्रकार हो । रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै रोगका बिरामीहरूमा पनि यो संक्रमण हुने सम्भावना अधिक रहन्छ । म्युकरमाइकोसिस श्वासप्रश्वासको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्दछ । श्वासप्रश्वासका विभिन्न प्रणालीहरूमा संक्रमणले अवरोध पुर्‍याउँछ र संक्रमण फैलिएको भाग कालो हुँदै जान्छ । 

नेपालमा इन्फ्लुएन्जा, एचआईभी, मिर्गौला, मधुमेह तथा क्यान्सरको उपचार गराइरहेका बिरामीमा म्युकरमाइकोसिस देखिने गरेको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । पछिल्लो समय कोभिड संक्रमितको उपचारमा प्रयोग हुने स्टेरोइड प्रकारका औषधिले रगतमा सुगरको मात्रा बढेको र रोग प्रतिरोधी क्षमता ह्रास गरेकाले मधुमेह भएका कोभिड संक्रमितमा म्युकरमाइकोसिसको समस्या बढेको चिकित्सकहरूले बताउँदै आएका छन् । 

औषधिको अधिक प्रयोगले मधुमेहका बिरामीमा यो संक्रमण भएका व्यक्तिहरूमा अनुहार, मुख, नाक, कान, आँखा वरिपरि दुख्ने, सुन्निने, ज्वरो आउने, दाँत दुख्ने तथा हल्लिने, आँखाको ढक्कनी सुन्निने, ढक्कनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाक वरिपरिको छालाको रंग कालो हुँदै जाने, नाकाबाट रगत बग्ने तथा बाक्लो सिँगान आउनेजस्ता लक्षण देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

म्युकरमाइकोसिस किन घातक ?

त्रिवि शिक्षण अस्पतालका म्युकर म्यानेज्मेन्ट कमिटी संयोजक डा. प्रधानाङ्गगका अनुसार मानिसको शरीरमा यो संक्रमण फैलिने चारवटा चरण हुन्छन् । पहिलो चरणमा संक्रमण श्वासप्रश्वासको माध्यमबाट नाकमा फैलिन्छ दोसो चरणमा नाक र यसका वरिपरिका भागहरूमा तेस्रो चरणमा आँखासम्म र चौँथो चरणमा यो संक्रमण मस्तिष्कसम्म फैलिन पुग्छ । ३ देखि ४ हप्ताको अवधिमा यो संक्रमण मस्तिष्कसम्म फैलिनसक्ने भएकाले यसलाई चिकित्सकहरूले क्यान्सरभन्दा घातक संक्रमणको रूपमा लिएका छन् । 

डा. प्रधानाङ्गगका अनुसार पहिलो र दोस्रो चरणमा देखिएको संक्रमणमा नाकको शल्यक्रियामार्फत् उपचार गरिन्छ । त्यसैगरी तेस्रो चरणमा पुगेमा आँखाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यस्तै मस्तिष्कसम्म फैलिएको संक्रमणको उपचार प्रक्रिया निकै कठिन हुन्छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार म्युकरमाइकोसिसबाट मृत्यु हुने दर ५४ प्रतिशतसम्म रहेको छ । समयमा उपचार हुन नसके यसले फोक्सो र पाचन प्रणालीमा समेत गम्भीर असर पुर्‍याउने डा. प्रधानाङ्ग बताउँछन् । 

म्युकरमाइकोसिस संक्रमितको उपचार निशुल्क भइरहेको छ ?

नेपालमा कोभिड संक्रमित भइरहेको अवधिमा म्युकरमाइकोसिस भएमा सरकारले निशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । तर, कोभिड संक्रमण नेगेटिभ आइसकेको अवस्थामा शल्यक्रिया खर्च संक्रमित आफैँले बेहोर्नुपर्ने हुन्छ । शल्यक्रिया खर्च २० देखि २५ हजार रुपैयाँसम्म मात्रै लाग्ने भएपनि शल्यक्रियाको क्रममा प्रयोग हुने उपकरणहरू महंगो हुन आउने डा. प्रधानाङ्ग बताउँछन् । 

शल्यक्रियापछि संक्रमितले प्रयोग गर्नुपर्ने औषधि भने नेपालमा दुर्लभ छन् । नेपालमा प्रयोग गरिने दुईवटा ‘एम्फोटेर्सिन बी’ र ‘पोसाकोनाजोल’ मध्ये एम्फोटेर्सिन बी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निशुल्क उपलब्ध गराउँदै आएको छ । तर पोसाकोनाजोल भने नेपाली बजारमा किन्न पाइने औषधि होइन । अस्पतालमा उपचारका क्रममा अस्पतालबाटै उपलब्ध गराउने र डिस्चार्ज भएपछि बिरामी आफैँले यो औषधिको व्यवस्था गर्नुपर्ने डा. प्रधानाङ्ग बताउँछन् । नेपालमा यो औषधि पर्याप्त मात्रामा उपलब्ध नुहनुले नै उपचार प्रक्रियमा कठिनाइ थपेको उनको भनाइ छ ।

शल्यक्रिया गरेपछि म्युकरमाइकोसिस पुरै निको हुन्छ ?

म्युकरमाइकोसिसको शल्यक्रिया गरेका जनसुकै अवस्थाका संक्रमित पूर्ण स्वस्थ भने नहुने डा. प्रधानाङ्गको अनुभव छ । “शल्यक्रिया उपचारको एउटा माध्यम हो । तर, उनीहरूलाई पहिलेकै जीवनशैलीमा फर्कन भने गाह्रो हुन्छ । नाकको शल्यक्रिया गरेकाहरूलाई पछिसम्म पनि श्वासप्रश्वासमा समस्या देखिनसक्छ,” उनले भने । त्यस्तै तेस्रो चरण अर्थात् आँखाको शल्यक्रिया गरिएका संक्रमितको शल्यक्रियापछि पछि आँखाको ज्योति गुम्नसक्ने भरतपुर अस्पतालका आँखारोग विभाग प्रमुख डा. सुमित पाण्डे बताउँछन् ।

कसरी बच्ने म्युकरमाइकोसिसबाट ?

अस्पताल भर्ना भएका कोभिड संक्रमितमा ब्ल्याक फङ्गस देखिएमा अन्य संक्रमितभन्दा छुट्टै राखेर उपचार गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रोटोकल बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेकाहरूलाई ब्ल्याक फङ्गस रोकथामका लागि निम्न उपाय अपनाउन सुझाव दिएको छ । 

– सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने,

– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने,

– व्यक्तिगत सरसफाइमा ध्यान दिने,

– नुनिलो पानीले नाक सफा गर्ने,

– धेरै धुलो भएको ओसिलो ठाउँमा नजाने,

– पोभिडोन  आयोडिन भएको तरल पदार्थले घाँटी तथा मुख कुल्ला गर्ने,

– मधुमेह भएका बिरामीले सुगर नियन्त्रण गर्ने,

– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने