मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेन्टिलेटर र आईसीयूमा कति संक्रमित उपचाररत छन् ?

भेन्टिलेटर र आईसीयूमा कति संक्रमित उपचाररत छन् ?


काठमाडौं । हाल नेपालमा २५० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ८७१ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । पछिल्लो समय भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या घट्दै जान थालेको छ । कतिपय अस्पतालमा बेड खाली हुन थालेको मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ मा ४९, प्रदेश २ मा २, वाग्मती प्रदेशमा सबैभन्दा धेरै १५२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचाररत भइरहेको छ । गण्डकीमा १८, लुम्बिनीमा १७, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८४ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा १५२, प्रदेश २ मा ३७, गण्डकी प्रदेशमा ७७, लुम्बिनीमा ८१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा २५ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् । 
मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या अघिल्लाा केही साताको तुलनामा घट्दै गएको छ । 

हाल संस्थागत आसोलेसनमा ३ हजार ६९९ संक्रमित छन् । दुई साताभन्दा अगाडि यो संख्या साढे ६ हजारभन्दा माथि थियो । होम आइसोलेसनमा ५१ हजार ८३३ संक्रमित छन् । 

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमा अन्य समस्या भएका, रोगी, बृद्ध उमेर तथा अपाङ्गता भएका व्यक्तिले भने होम आइसोलेसनमा बस्न नहुने बताउँदै आएको छ । आफ्नो काम आफैं गर्न सक्ने अवस्थाका संक्रमित मात्रै होम आइसोलेसनमा बस्नु उचित हुने तर आफ्नो काम अरुले गरिदिनु पर्ने अवस्थाका संक्रमित घरमा बस्न नहुने स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन् । होम आइसोलेसनमा बस्ने संक्रमित निरन्तर चिकित्सकको परामर्शमा रहनु पर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

“होम आइसोलेसनमा बस्ने कि नबस्ने भन्ने संक्रमितभन्दा पनि चिकित्सकले निर्धारण गर्ने हो,” उनी भनछन्, “संक्रमण भएपछि पहिलो चिकित्सकको परामर्श लिनुपर्छ । उसको सल्लाह अनुसार अस्पताल जाने अथवा होम आइसोलेसनमा बस्ने भन्ने निष्कर्षमा पुग्नुपर्छ ।”