मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को परीक्षा साउनमै हुनेमा शङ्का

कक्षा १२ को परीक्षा साउनमै हुनेमा शङ्का

सुदूर आज

काठमाडौँ । कक्षा १२ को परीक्षा कहिले हुने अझै टुंगो लागेको छैन । कोरोना महामारी केही घटेर निषेधाज्ञा खुलेपनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मिति तोक्न सकेको छैन ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल बोर्डले परीक्षा साउनको अन्तिम सातादेखि गराउने योजना रहेपनि अहिले मुलुकभरको आन्तरिक सूचना सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए । उनले भने, “बोर्डको १२ वटा शाखा छ । ती शाखाबाट विद्यालयहरूले परीक्षा गराउन केकस्ता स्रोत साधन छन्, त्यसबारे सूचना सङ्कलन भइरहेको छ ।”

उनले कोरोना संक्रमणको दर केही घटेपनि अहिल्यै परीक्षा गराउन निर्णय गर्न नसकिने बताए । “परीक्षाको सम्पूर्ण तयारी भएको छ । साउनमै गराउने इच्छा पनि छ । तर संक्रमण दर केही प्रतिशत घट्यो भन्दैमा हतारिएर परीक्षा गराउनु भएन । बढ्यो भने बीचमै रोक्नुपर्ने हुन्छ ,” उनले  भने ।

गत वर्ष पनि कक्षा १२ को परीक्षा कोभिड १९ को कारण प्रभावित भएको थियो । लकडाउन खुलेपछि दुईवटा मोेडलमा परीक्षा सञ्चालन गरिएको थियो । हिमाली क्षेत्रमा प्रश्नपत्र छापेर पठाइएको थियो भने अन्य क्षेत्रमा अनलाइनबाट प्रश्न पत्र पठाइएको थियो । विद्यार्थीहरूले आफू पढ्ने विद्यालयमै गएर परीक्षा दिएका थिए । परीक्षा ढिलो भएपछि त्यसले उच्च शिक्षा अध्ययनमा समेत प्रभावित पारेको थियो । विश्वविद्यालयले फागुनमा मात्रै स्नातक तहमा नयाँ विद्यार्थी भर्ना लिएका थिए ।

यस्तै, गत वर्ष ४० अङ्कको लिखित परीक्षा र कक्षा ११ को मूल्याङ्कनलाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा प्रमाणीकरण गरिएको थियो । जसमा आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम मूल्याङ्कनको आधार बनाइएको थियो ।

यसपटक प्रश्नपत्र सबै अनलाइनमै पठाउन सकिन्छ कि भनेर घनीभूत छलफल चलिरहेको अध्यक्ष पौडेल बताउँछन् । “सबै विद्यालयमा बिजुली बत्ती र इन्टरनेटको सुविधा छ कि छैन, त्यसबारेमा सूचना सङ्कलन गर्दैछौँ,” उनले भने, “सबै सूचनालाई वर्गीकरण गरिरहेकाछौँ । यहाँ विद्यालय विद्यालयबीचको स्तर पनि फरक छ । अनुमानको भरमा परीक्षा गराउन सक्दैनौँ ।”

बोर्डले २६ जेठमा कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना संक्रमण बढेपछि स्थगित गरेको थियो । यसवर्ष कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदै छन् ।