मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेल बताउँछिन् । 

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र  चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको संभावना रहेको मौसमविद् पोखरेल बताउँछिन् । 

वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । 

यद्यपि, अघिल्ला दिनहरुको तुलनामा केही कम वर्षा हुने छ । “तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा अबका केहीदिन कम वर्षा हुने छ । तर, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन,” मौसमविद् विभूति पोखरेल भन्छिन्, “केही ठाँउमा भने अचानक भारी वर्षा पनि हुने सम्भावना रहन्छ । सामान्य र मध्यम वर्षा भने हुने नै छ ।” अघिल्लो हप्ता देशका धेरै स्थानमा अति भारी वर्षा भएको थियो । जसका कारण पहिलो तथा बाढी आएको थियो । पहिरोले जनधनको क्षति पुर्याएको थियो । राजमार्गहरुमा पहिरो जाँदा सवारी आवगाम प्रभावित भएको थियो । अझै कतिपय सडक अबरुद्ध नै छन् । 

उनका अनुसार काठमाडौं उपत्यकामा आगामी तीनदिन भारी वर्षाको सम्भावना न्यून छ । तर, सामान्य न्युन वर्षा भने जुनसुकै बेला हुने छ । आज काठमाडौं उपत्यकामा अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् पोखरेल बताउँछिन् ।