मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी

तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी


काठमाण्डाै – अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई  विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको र यो देशको लागि गर्वको विषय भएको बताउनुभएको छ  । अफगानिस्तानलाई अब युद्धभूमि बनाउन नदिइने उल्लेख गर्दै प्रवक्ता मुजाहिदले आफूहरुविरुद्ध लागेका सबै सरकारी कर्मचारीलाई आममाफी दिएको बताउनुभयो ।

महिला अधिकारको सम्मान गर्ने तालिबानको भनाई छ । महिलाहरुले सरिया कानुन मान्नुपर्ने तर उनीहरुले डराउनुपर्ने कारण नरहेको बताउँदै प्रवक्ता मुजाहिदले महिलाहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभयो । आफूहरुले अब कुनै पनि शत्रु नचाहेको बताउँदै तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको बताएका छन् । यस्तै तालिबानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर निजी क्षेत्रका सञ्चारमाध्यम निष्पक्ष र स्वतन्त्र हुन पाउनेमा पनि ढुक्क रहन आग्रह गरेको छ ।

तालिबानले नयाँ सरकार गठनको तयारी पनि गरिरहेको छ । पछिल्ला केही दिनको तुलनामा हिजो काबुलको अवस्था निकै शान्त भएको बीबीसीले जनाएको छ । तालिबानले नियन्त्रणमा लिएको तेस्रो दिन लडाकुहरूको व्यापक उपस्थिति रहे पनि राजधानी काबुलका सडकहरू शान्त देखिएका खबरमा उल्लेख छ।