मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसमी इन्फ्लुएन्जा र कोभिड संक्रमण उस्तै हुन् ?

मौसमी इन्फ्लुएन्जा र कोभिड संक्रमण उस्तै हुन् ?


काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक भर्ना हुन आउने प्रत्येक २० मध्ये आठजना बिरामी कोभिड–१९ जस्तै लक्षण बोकेर आएका छन् । तर, पीसीआर परीक्षण गराउँदा भने नेगेटिभ आउने गरेको छ । कतिपय निमोनिया भएका बिरामीको पटक–पटक पीसीआर परीक्षण गराउँदा पनि कोभिड नेगेटिभ आएको छ ।

अस्पतालको ओपीडीमा सुक्खा खोकी लाग्ने, उच्च ज्वरो भएका, कडा रुघाखोकी लागेका बिरामीहरू बढ्दै गएको अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दुप्रसाद पाठक बताउँछन् ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पछिल्लो समय कोभिडसँग सम्बन्धित लक्षण लिएर बिरामीहरू आउने क्रम बढेको छ । यसरी आउने बिरामीहरूको नमुना परीक्षण गर्दा मलेरिया, डेंगु तथा अरू मौसमी इन्फ्लुएन्जा पुष्टि हुने गरेको अस्पताल निर्देशक डा. अनुप बास्तोला बताउँछन् ।

पछिल्लो समय देशभर कोभिडजस्तै लक्षण भएका बिरामीको संख्या देशभर बढेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकानुसार एक सातामा मौसमी संक्रमणका १५० वटा ‘केस’हरू दर्ता भएका छन्, जसमध्ये सबैभन्दा धेरै १२९ वटा झाडापखालाजन्य समस्या छन् । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीसँगै  डेंगु, कालाजारलगायत मौसमी संक्रमणका बिरामी तराईका जिल्ला मात्रै नभई काठमाडौं उपत्यका र पहाडी जिल्लाहरूमा समेत बढेको महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

किन बढ्यो मौसमी इन्फ्लुएन्जा ?
सामान्यतया नेपालमा मौसम परिवर्तन हुने समयमा सरुवा रोगका भाइरसहरू बढी सक्रिय हुने विशेषज्ञहरू बताउँछन् ।

त्यस्तै, भारतमा यो समयमा देखिने अधिकांश संक्रमण नेपालमा सर्ने र छिट्टै फैलिने समेत गरेको देखिएको छ । अहिले पनि भारतमा देखिएको निप्हा भाइरसको संक्रमण नेपालमा आउन सक्ने जोखिम भएकाले सीमाक्षेत्रमा निगरानीमा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले जानकारी दिए ।

इन्फ्लुएन्जा र कोभिड संक्रमण उस्तै हुन् ?
लक्षणका आधारमा कोभिड–१९ जस्तै देखिने भए पनि मौसमी इन्फ्लुएन्जा कोभिडजस्तो घातक भने नहुने विशेषज्ञहरू बताउँछन् । यस्तो संक्रमण ३० भन्दा बढी कारणले देखिन सक्ने उनीहरूको भनाइ छ ।

कोभिड संक्रमण भएमा तीनदेखि पाँच दिनमा समेत लक्षण देखिन सक्ने हुन्छ भने मौसमी इन्फ्लुएन्जा एक्कासि लक्षण देखिने प्रकृतिको हुन्छ । यसरी एक्कासि ज्वरो बढ्ने, टाउको दुख्ने भएमा एन्फ्लुएन्जाको लक्षण भन्न सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बास्तोला बताउँछन् ।

“सामान्यतया यस्ताखाले भाइरल रुघाखोकी, इन्फ्लुएन्जालगायतले गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या ननिम्त्याउने भएकाले नेपालमा यसलाई सामान्य रूपमा लिने गरिएको छ । यस्ताखाले समस्या आफैँ निको भएर जाने भएकाले परीक्षण पनि कम हुने गरेको छ  । तर, कहिलेकाहीँ भाइरल रुघाखोकी भनेर परीक्षण नगराई बस्दा दुई हप्तापछि पनि गम्भीर समस्या देखिनसक्छ । पहिलो र दोस्रो लहरको कोभिड संक्रमणमा नेपालमा यस्तै अवस्था देखिएको थियो । त्यसैले ज्वरो आएको वा कोभिडसँग मिल्दोजुल्ल्दो लक्षण देखिएको तीन दिनसम्म पनि निको नभएमा कोभिड परीक्षण अवश्य गराउनुपर्छ । ताकि, एकैपटक गम्भीर समस्या नदेखियोस्,” उनले भने ।

अहिले देखिएको भाइरल रुघाखोकी वा ज्वरो कोभिड संक्रमण हो वा होइन भनी घरमै बसेर पत्ता लगाउन नसकिने डा. सुवेदीको भनाइ छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएर तीन दिनभन्दा बढी बिरामी भएमा पीसीआर परीक्षण गराउन उनको सुझाव छ ।

परीक्षणमा समस्या 
कोभिड–१९ जस्तो लक्षण भएकाले मौसमी इन्फ्लुएन्जाका बिरामी परीक्षणमा आउने क्रम बढ्दो छ । तर, उपत्यकाबाहिरका अधिकांश अस्पतालमा यो कस्तोखाले संक्रमण हो भनेर छुट्ट्याउने पर्याप्त प्रविधि छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आउने भाइरलका बिरामीहरूको सुरुमा पीसीआर परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आए पनि बिरामीमा लक्षण देखिइरहे उनीहरूको नमुना परीक्षणका लागि पठाइने गरिएको छ । अस्पतालमै प्रविधि नहुँदा नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दुप्रसाद पाठक बताउँछन् ।

तर, कोभिड–१९ को संक्रमणका हिसाबले पनि अहिले उत्तिकै जोखिम रहेकाले उस्तै लक्षण देखिएमा अनिवार्य पीसीआर परीक्षण गराउन रािष्ट्रय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा सुझाव दिन्छिन् ।