पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज आफ्नो उम्मेदवारी घोषणा गर्दै छन्।
जननायक बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर शर्माले आज दिउँसो १२ बजे काठमाडौंको सुन्दरीजलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन्। तर, उनले कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने प्रष्ट भइसकेको छैन।
‘कांग्रेसका संस्थापक बीपी, गणेशमानलाई जहानियाँ राणा शासनले लामो समय जेलमा राखेको माटोलाई छोएर उम्मेदवारी घोषणा गर्दैछु,’ शर्माले भने।
शर्मा निकट नेताहरुका अनुसार उनी पार्टीमा महामन्त्रीका आकांक्षी हुन्। उनले महाधिवेशनको लागि कुन समूहबाट आफ्नो उम्मेदवारी घोषणा गर्दै छन् त्यो पनि स्पष्ट भइसकेको छैन।
‘पहिले उम्मेदवारी त घोषणा गर्न दिनुस्। प्यानल थाहा भइहाल्छ नि,’ शर्माले भने। स्रोतका अनुसार उनले आफ्नो उम्मेदवारीबारे सभापति शेरबहादुर देउवासँग पनि सल्लाह गरिसकेका छन्। यस अघि युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन। उनले क्रियाशील सदस्यताको अन्तिम टुंगो लागेपछि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छ्न्। कांग्रेसको विधानमा दुई महामन्त्रीको व्यवस्था छ।
कांग्रेसले अझै २० जिल्लाको सदस्यता टुंग्याउन बाँकी छ। पार्टीले गठन गरेको छानबिन समितिले अहिलेसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली मात्रै सार्वजनिक गरेको छ।




















प्रतिक्रिया