मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवधारणापत्र सार्वजनिक गर्दै गगनले भने– टोपी, धोती लगाउने सबैको पार्टी हो कांग्रेस

अवधारणापत्र सार्वजनिक गर्दै गगनले भने– टोपी, धोती लगाउने सबैको पार्टी हो कांग्रेस


काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी गगनकुमार थापाले आफ्नो बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्।

महाधिवेशन सुरु हुने अघिल्लो दिन अवधारणापत्र सार्वजनिक गर्दै थापाले कांग्रेस पार्टीको सदस्यता लिएको ३० वर्ष भएको भन्दै कांग्रेसको झन्डा बोकेर घरमा आउने कार्यकर्ताका कारण बाल्यकालमै मस्तिष्कमा कांग्रेसको छाप परेको बताए। पछि बुझ्ने भएपछि कांग्रेस सदस्य भएकोमा आफूलाई गौरव लागेको उनले सुनाए।

आफू विशाल रुखको छहारीमुनि बसेको अनुभव भइरहेको र जय नेपाल भन्ने भीडको बीचमा बसेको अनुभूति हुने भन्दै थापाले त्यो जय नेपाल भन्ने भीडमा टोपी लगाउने र धोती लगाउने सबै सबै अटाएको बताए।

थापाले पार्टीमा क्रियाशील भएर यसमार्फत जनताको जीवनमा बदलाव ल्याउने कुरा महत्त्वपूर्ण भएको बताए। जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने उनको भनाइ थियो।

उनले भने, ‘म पार्टीको महामन्त्री हुन्छु–हुन्न थाहा छैन। पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुंगिन्छ त्यो पनि मलाई थाहा छैन। जहाँ गएर टुंगियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु। १०–१५ वर्ष काम गरेर मेरा २०–२१ वर्षका छोरीहरूलाई लिएर काठमाडौं या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस्। मलाई यति मात्र भए पुग्छ। त्यहाँ कुनै नेपाली नागरिकले माया र सम्मान दिए पुग्छ।’