मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि कांग्रेस महाधिवेशन, यस्तो छ निर्वाचन तालिका

आजदेखि कांग्रेस महाधिवेशन, यस्तो छ निर्वाचन तालिका


काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि हुँदैछ। महाधिवेशनले चार वर्षे कार्यकालका नयाँ नेतृत्व चयन गर्ने छ। 

महाधिवेशनको उद्घाटन सत्र हुने भृकुटीमण्डपमा उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। त्यहाँ कांग्रेसले ४० लाख रुपैयाँमा मञ्च तयार गरेको छ। 

महाधिवेशन विधानमा निर्धारित समयभन्दा झण्डै दुई वर्षपछि हुन लागेको हो। विशेष परिस्थितिमा विधानत: थप गर्न मिल्ने एक बर्से सुविधाको प्रयोग र संविधानअनुसार प्राप्त गर्न सकिने ६ महिने सुविधा प्रयोग गर्दै कांग्रेस महाधिवेशनमा होमिएको हो। यही अवधिको अन्त्यतिर कांग्रेसले वडा तहको अधिवेशन थालेर महाधिवेशनको प्रक्रिया अघि बढाएको थियो।

कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख नेतालाई महाधिवेशनमा सम्बोधनका लागि आमन्त्रण गरेको छ। प्रमुख विपक्षी दल, नेकपा एमालेसँगै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षहरूलाई बोलाइएको कांग्रेसले जनाएको छ।

महाधिवेशनलाई सम्बोधन गर्न भारतदेखि त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी, त्रिणमूल कांग्रेसको चार सदस्यीय प्रतिनिधिमण्डल बिहीबार नै काठमाडौं आइपुगेको छ। 

देशभरिबाट चार हजार ५ सयको संख्यामा महाधिवेशन प्रतिनिधिहरू आइपुगेका छन्। ​महाधिवेशनको खुला सत्र कम्तीमा दुई घण्टाको हुने कांग्रेसले जनाएको छ। यसपछि कांग्रेस बन्द सत्रमा जानेछ।

बन्द सत्रमा महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको लेखा प्रतिवेदन, उपसभापति बिमलेन्द्र निधि नेतृत्वको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिस्ठानको प्रगती प्रतिवेदनसँगै परिमार्जित पार्टी विधानसम्बन्धी प्रस्ताव पेस हुनेछ। 

यसअघि बिहीबारको केन्द्रीय समिति बैठकले बन्द सत्रमा छलफल गरी पारित गर्दै अनुमोदनका लागि यी प्रस्तावहरू पारित गरेको छ।

सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राखिने कांग्रेसले जनाएको छ। करिब साढे ३ लाखदेखि ४ लाख मानिस सहभागी हुने भएकाले ट्राफिक जाम नहोस् भन्नेमा कांग्रेसले सावधानी अपनाइए प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने उनको भनाइ छ।

महाधिवेशनमा निर्वाचन कार्यतालिका 

पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे गर्ने जनाएको छ।

समितिका अनुसार मनोनयन दर्ता २५ गते (भोलि) बिहान १० देखि साँझ ५ बजेसम्म, दाबी विरोध र जाँचबुझ २५ गते (भोलि) र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय हुने मङ्सिर २५ गते साँझ ७ देखि ८ बजेसम्म हुनेछ। 

उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते राति ८ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२:१५ बजे हुने कार्यतालिका छ। मतदान भने २७ गते बिहान ८ बजेदेखि हुने छ।