मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना आज

कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना आज


काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना जारी छ।

कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आएको छ । सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको हो । अब बाँकी रहेका मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस/आर्यतर्फका सहमहामन्त्रीका लागि आज बिहानदेखि मत गणना गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खस/आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा हुनुहुन्छ । यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् । यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

अहिलेसम्मको नतिजाअनुसार देउवासहित उहाँको समूहका चार जनाले जितेका छन् । सभापतिमा पराजित शेखर कोइराला समूहका तीन जना र प्रकाशमान सिंह समूहबाट एक जना विजयी भएका छन् । सहमहामन्त्रीको टुङ्गो लागेपछि कांग्रेस केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । सभापतिमा ५१ प्रतिशत नपुगेपछि मङ्गलवार पुनः मतदान गरिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।