मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर प्रादेशिक सहरहरु आपसमा हवाइ सञ्जालमा जोडिंदै

अन्तर प्रादेशिक सहरहरु आपसमा हवाइ सञ्जालमा जोडिंदै


धनगढी : नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंलाई आधार बनाएर भइरहेको उडान सञ्जाल चिर्दै पछिल्लो समय अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीहरुको आकर्षण बढेको छ । यसबाट कम्पनीहरुले आक्रामक बजार विस्तार मात्र गरिरहेका छैनन्, यात्रुलाई समेत सुविधा बढेको छ ।

बुधबार मात्रै बुद्ध एयरले पोखराबाट धनगढीलाई सिधा हवाई उडानको सञ्जालमा जोडेको छ । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार बुधबार पोखराबाट १८ यात्रु लिएर उडेको बुद्धको बीचक्राफ्ट जहाजले धनगढीबाट समेत उत्तिनै संख्यामा यात्रु लिएर पोखरा आएको छ । यससँगै पोखरालाई आधार मानेर बुद्धले मात्र पाँचौं प्रादेशिक सहरमा उडान थालेको हो ।

केन्द्रमा पोखरा

संघीय राजधानी काठमाडौं नेपालको हवाई उडानको मुख्य हब हो । तराई भेगलाई दुर्गमका विमानस्थलसँग जोड्न पश्चिममा नेपालगञ्ज र पूर्वमा विराटनगरले क्षेत्रीय हब विमानस्थलको पहिचान बनाएका छन् । किनकी यी विमानस्थलबाट ट्वीनअटर जहाजले तराई र पहाड–हिमाललाई जोडिरहेका छन् ।

तर, पछिल्लो समय अन्तर प्रदेश उडानमा भने पोखरा सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । पोखराको पर्यटकीय पहिचान र यहाँ देशभरका नागरिकको आकर्षणकै कारण पोखरा क्षेत्रीय उडानको केन्द्र बन्न पुगेको हो । कर्णका अनुसार बुद्धले पोखराबाट धनगढी, नेपालगन्ज, भैरहवा, भरतपुर र सिमरामा उडान सुरु गरिसकेको छ ।

आगामी साता पोखरा–जनकपुर रुटमा उडान विस्तार हुँदैछ । त्यसपछि विराटनगर र भद्रपुरलाई समेत पोखरासँग जोड्ने तयारी बुद्धले गरेको छ । बुद्ध बाहेक गुण एयरलाइन्सले पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्जमा उडान थालेको छ ।

यसअघि यति एयरलाइन्सले कोभिड-१९ अगाडि पोखराबाट भैरहवा र भरतपुरमा उडान गरिरहेको थियो । यो बीचमा उसले साना जहाज गुण एयरलाइन्सलाई बिक्री गरेको छ । क्षेत्रीय उडानमा एटीआर ७२ स्तरका जहाज उडाउने गरि यात्रु नहुने भएकाले तत्कालका लागि यतिले क्षेत्रीय उडानको योजना भने नबनाएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यतिको भगिनी कम्पनीले अहिले रोकिएको पोखरा–जोमसोम उडानलाई भने छिट्टै सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

पछिल्लो समय थपिएका क्षेत्रीय उडान

बुद्ध एयर

  • पोखरा–भरतपुर–पोखरा
  • पोखरा–भैरहवा–पोखरा
  • पोखरा–नेपालगञ्ज–पोखरा
  • पोखरा–धनगढी–पोखरा
  • पोखरा–सिमरा–पोखरा

गुण एयरलाइन्स

  • पोखरा–भरतपुर–पोखरा
  • पोखरा–भैरहवा–पोखरा
  • पोखरा–नेपालगञ्ज–पोखरा

भैरहवा–विराटनगर समेत जोडिने

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । यससँगै बुद्धले भैरहवालाई पूर्वी नेपालसँग जोड्ने गरि तयारी गरिरहेको छ । दुई औद्योगिक सहर भएको र अन्तर्राष्ट्रिय उडान सुरु भएपछि भैरहवा आउने यात्रुलाई पूर्वी नेपालसँग जोड्न यो रुटमा उडानको तयारीमा बुद्ध एयर छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जेठ पहिलो साताबाट भैरहवा विमानस्थलमा व्यवसायिक रुपमा जहाज संचालनको तयारी गरिरहेको छ । बुद्धले यात्रुको माग भएको समयमा भरतपुर–भैरहवा रुटमा समेत उडान गर्छ । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड अहिले बिस्तारको क्रममा छ । सोहीकारण यात्रुले पाउने सास्तीलाई सहज बनाउन कम्पनीले यो रुटमा उडान राखेको हो ।

बुद्धको प्रस्तावित रुट

  • पोखरा–जनकपुर–पोखरा
  • पोखरा–विराटनर–पोखरा
  • पोखरा–भरतपुर–पोखरा
  • भैरहवा–विराटनगर–भैरहवा

गुणले जोड्दैछ नेपालगञ्ज–भैरहवा

गुण एयरलाइन्सले अहिले काठमाडौं बाहेक पोखराबाट तीन वटा रुटमा उडान गरिरहेको छ । कम्पनीका बजार प्रबन्धक प्रज्वल थापाका अनुसार गुणले पोखरा–नेपालगञ्ज–पोखरा, पोखरा–भैरहवा–पोखरा र पोखरा–भरतपुर–पोखरा रुटमा उडान गरिरहेको छ ।

आगामी मार्चदेखि पोखरा–जनकपुर–पोखराको समेत उडानको तयारी गरिरहेको छ । यसबाहेक गुणले भरतपुर–नेपालगञ्ज–भरतपुर रुटमा उडान गर्ने थापाले जानकारी दिए । यो अहिले चलेका क्षेत्रीय रुटमा नौलो हुने छ ।

गुणको प्रस्तावित रुट

  • पोखरा–जनकपुर–पोखरा
  • भरतपुर–नेपालगञ्ज–भरतपुर

नयाँ जहाज ल्याउँदा नाइट स्टप मोफसलमा राख्नुपर्ने प्रावधानको प्रभाव

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाजको अत्यधिक चाप बढेसँगै पछिल्लो समय नयाँ आउने कम्पनी र पुराना कम्पनीले जहाज थप्दा त्यसको नाइटस्टप काठमाडौं हुनुपर्ने शर्त राखिएको छ ।

यस्तो शर्तमा आएका जहाज रातमा उपत्यका बाहिरको विमानस्थलमा रोकिन्छ । सोहीकारण पछिल्लो समय कम्पनीहरु धमाधम क्षेत्रीय उडानमा केन्द्रित भएका छन् ।

यात्रुको आकर्षण संतोषजनक

क्षेत्रीय उडानमा संतोषजनक रहेका कारण उडानहरु थप्न सहज भएको कम्पनीहरुको भनाइ छ ।

गुण एयरलाइन्सका बजार प्रबन्धक थापाका अनुसार अहिले भइरहेका रुटमा यात्रुको आकर्षण राम्रो छ ।

खासगरी पोखरामा फस्टाएको आन्तरिक पर्यटनकै कारण जहाजले सहजै यात्रु पाउने गरेका छन् । अहिले नेपालमा बाह्य पर्यटकको आगमन नगन्य छ । यस अवस्थामा समेत सन्तोषजनक रुपमा यात्रु पाएसँगै वायुसेवा कम्पनी भने उत्साहित देखिन्छन् । – अनलाईनखबर